धनगढी, भदौ २ — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिनुअघि नै सरकार विस्तारको खाका तयार गर्न थालेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको केही दिनमै भट्टले सत्ता व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विश्वासको मत र सरकारलाई पूर्णता दिने तयारी एकसाथ अघि बढाएका हुन् ।
मुख्यमन्त्री निवासमा सोमबार भएको छलफलपछि भट्टले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ ।
मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदका अनुसार संसदीय दलको बैठकबाट विश्वासको मत लिने विषयमा आवश्यक निर्णय गर्ने तयारी छ । त्यसपछि प्रदेशसभामा विश्वासको मत लिने प्रक्रिया अघि बढाइनेछ ।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । अहिले एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् ।
अब नेकपाबाट थप तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । यसले सरकारको आकार विस्तारसँगै सत्ता साझेदारीको समीकरणसमेत टुंग्याउने प्रयास भइरहेको देखाएको छ ।
विश्वासको मत र सरकार विस्तारको तयारीका क्रममा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच संयुक्त छलफल भएको थियो । त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि सरकार सञ्चालन तथा विश्वासको मतबारे छलफल भएको थियो ।
मुख्यमन्त्री भट्टका लागि विश्वासको मत प्राप्त गर्नु सरकारको स्थायित्वका दृष्टिले पहिलो राजनीतिक परीक्षा हुनेछ । त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीले भने प्रदेश सरकारको आगामी कार्यदिशा र सत्ता व्यवस्थापनलाई समानान्तर रूपमा अघि बढाउन खोजिएको संकेत गरेको छ ।
अब आज बस्ने संसदीय दलको बैठकले विश्वासको मतको रणनीति र सरकार विस्तारसम्बन्धी थप निर्णय गर्ने अपेक्षा गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया