काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले निर्वाचन गरेकोमा बुधबार बिहान निर्वाचनको सबै परिणाम सार्वजनिक भएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित हुनुभएको छ । उहाँले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गर्नुभएको हो । उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित हुनुभएको छ ।
यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित भएको पार्टीको निर्वाचन आयोगले जनाएको छ। पार्टीको सचिव पदमा (समावेशी) बलदेव चौधरी र सचिव (दलित) गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन भएको पार्टीको निर्वाचन आयोगले जनाएको छ।
पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मंगलबार राति मतदान भएको थियो। पोलिटब्यूरो सदस्यको मतगणना हुन बाँकी रहेकाले परिणाम साँझसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए। गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd