काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ । सोमबार साँझ बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि राउतको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्य ८ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्मा पठाएको थियो । परिषद्ले वरिष्ठताका आधार सर्वोच्चका न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको परिषद्का एक सदस्यले जानकारी दिए ।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको नाम सिफारिस गरी पठाएको थियो ।
प्रधानन्याायाधीश पदमा सिफारिस राउत २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका छन् । उनले २०४० सालदेखि २०७३ सालसम्म गरेर करिव ३३ वर्ष सर्वोच्च अदालतमा अधिवक्ता र वरिष्ठ अधिवक्ताको रूपमा काम गरेका थिए ।
राउतसँग अधिवक्ता र वरिष्ठ अधिवक्ताको रूपमा विशेष गरी देवानी, फौजदारी, संवैधानिक मुद्दा र रिटमा विशेषज्ञता छ । यसबाहेक, उनले विभिन्न सार्वजनिक संस्थान र निजी संस्थामा कानुनी सल्लाहकारको रूपमा पनि काम गरेका छन् । उनले नेपाल बार एसोसिएसनमा संवैधानिक समितिको संयोजकको रुपमा समेत काम गरेका थिए । उनी २०६३ सालमा सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्ष थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया