logo

२०८३ आश्विन १६ शुक्रबार

logo
  • २०८३ आश्विन १६ शुक्रबार
  • वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    736Shares
    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्।

    भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा यातायात अवरुद्ध भएपछि उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको हो।

    मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका अधिकांश मालसामानको भन्सार जाँचपास पूरा भइसके पनि सडक अवरुद्ध हुँदा कन्टेनर गन्तव्यतर्फ पठाउन सकिएको छैन।

    “कोरलानाकास्थित भन्सार यार्ड क्षेत्रमा १५० भन्दा बढी कन्टेनर छन्। तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ,” चुडालले भने, “भन्सारमा केही कन्टेनर जाँचपासको प्रक्रियामा छन्। त्यो पनि अबको दुई दिनभित्र पूरा हुन्छ।”

    तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोरलानाका पनि वर्षाका कारण प्रभावित भएको उनले बताए।

    सडक अवरुद्ध हुँदा करिब २०० वटा विद्युतीय सवारीसाधनसमेत गन्तव्यतर्फ जान सकेका छैनन्। तीमध्ये १०० भन्दा बढी सवारीसाधन पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकेको बताइएको छ।

    कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले यसअघि दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो। सडक अवरुद्ध भएसँगै व्यापारिक गतिविधिमा समेत असर परेको भन्सार कार्यालयले जनाएको छ।

    कोरलानाकाबाट दसैँ लक्षित तयारी सामग्री, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामग्री, लत्ताकपडालगायत विद्युतीय सवारीसाधन नेपाल भित्रिने गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ आश्विन १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट