logo

२०८३ भाद्र २९ सोमबार

logo
  • २०८३ भाद्र २९ सोमबार
  • आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    775Shares
    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ।

    दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध तथा आडिलो परिकार खाने चलन छ। शास्त्रीय विधानअनुसार दर दुई भाग रात हुनुअघि नै खाइसक्नुपर्ने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन्।

    तीजलाई धार्मिक पर्वका रूपमा मात्र नभई महिलाले वर्षभरि भोगेका दुःख, पीडा र मर्का अभिव्यक्त गर्ने अवसरका रूपमा समेत लिने गरेका छन्। तीजका गीतमार्फत महिलाहरूले जन्मघरबाट कर्मघरमा पुगेपछि भोगेका सामाजिक तथा पारिवारिक पीडा सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ।

    दर खाएपछि सुरु हुने तीजपर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत तथा पूजा गरिन्छ भने चौथीका दिन गणेश भगवान्को पूजा गरिन्छ। पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुन्छ।

    यस वर्ष भदौ ३० गते मंगलबार गणेश चौथी र ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। गणेश चौथी प्रातःकालमा चतुर्थी तिथि परेको दिन मनाउने शास्त्रीय परम्परा छ भने ऋषि पञ्चमी मध्याह्नकालमा पञ्चमी तिथि परेका दिन मनाउनुपर्ने विधान रहेको छ।

    धर्मशास्त्रीय मान्यताअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पति रूपमा प्राप्त गर्ने वरदान पाएकी थिइन्। तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग समस्या सुनाएकी थिइन्।

    पार्वतीको समस्या बुझेपछि उनका साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र त्यहीँ पार्वतीले निराहार व्रत बसेर महादेवलाई पति रूपमा प्राप्त गरेको पुराणमा उल्लेख छ।

    पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही समयदेखि हरितालिका (तीज) व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट