काठमाडौं — राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको जन्मजयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएका भट्टको स्मरणमा साहित्यिक गोष्ठी, चर्चा तथा विविध कार्यक्रम आयोजना गरिँदैछन्।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका मोतीराम भट्टको निधन पनि विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन भएको थियो। उनी ३० वर्षको अल्पायुमै निधन भए पनि नेपाली साहित्यको क्षेत्रमा उनको योगदान दीर्घकालीन र प्रभावशाली मानिन्छ।
नेपाली साहित्यमा विशेषगरी शृङ्गार रसको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टले गजल साहित्यलाई समेत लोकप्रिय बनाउन उल्लेखनीय भूमिका खेलेका थिए। उनले कथा, नाटक र निबन्धलगायत विभिन्न विधामा समेत कलम चलाएका थिए।
आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउने श्रेय पनि मोतीराम भट्टलाई जान्छ। नेपाली साहित्यको संरक्षण, प्रकाशन र विस्तारमा योगदान पुर्याउँदै उनले नेपालमा छापाखाना भित्र्याउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
नेपाली साहित्यमा आधुनिक चेतना र सिर्जनशीलताको विकासमा योगदान पुर्याएका भट्टलाई नेपाली साहित्यका अग्रणी व्यक्तित्वका रूपमा स्मरण गरिन्छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया