logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • एआई प्रविधिको विश्वव्यापी मागले चीनको अर्थतन्त्रलाई दियो नयाँ गति

    724Shares
    एआई प्रविधिको विश्वव्यापी मागले चीनको अर्थतन्त्रलाई दियो नयाँ गति

    हङकङ। कृत्रिम बौद्धिकता (एआई)सँग सम्बन्धित उत्पादनको विश्वव्यापी माग तीव्र बन्दै जाँदा चीनको निर्यात जुन महिनामा उल्लेखनीय रूपमा बढेको छ। चीनको भन्सार प्रशासनका अनुसार जुनमा निर्यात वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ, जुन मे महिनाको १९.४ प्रतिशत वृद्धिभन्दा उच्च हो। सोही अवधिमा आयात पनि ३६ प्रतिशतले बढेपछि चीनको व्यापार गतिविधिले अपेक्षाभन्दा बलियो संकेत दिएको छ।

    जुन महिनामा चीनले एक खर्ब २५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ। यो मे महिनाको एक खर्ब पाँच अर्ब ४० करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो। विश्लेषकहरूका अनुसार एआई प्रविधिको तीव्र विस्तारसँगै सेमिकन्डक्टर, विद्युतीय सवारी साधन (इभी) तथा उच्च प्रविधियुक्त इलेक्ट्रोनिक उपकरणको अन्तर्राष्ट्रिय माग बढेकाले चीनको निर्यातमा सकारात्मक प्रभाव परेको हो।

    क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डका अनुसार सेमिकन्डक्टरको मूल्य वृद्धिसँगै प्रविधिमूलक उत्पादनको माग बढ्नु निर्यात विस्तारको प्रमुख कारण बनेको छ। उहाँले चिनियाँ उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग अझै बलियो रहेको उल्लेख गर्नुभयो।

    आयातमा देखिएको तीव्र वृद्धिको पछाडि विश्व बजारमा कच्चा पदार्थ र ऊर्जा आयात लागत बढ्नु पनि प्रमुख कारण मानिएको छ। इरानसँगको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा चीनको आयात मूल्यसमेत बढेको विश्लेषकहरूको भनाइ छ।

    निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि दबाबमा रहेको चीनको रियल स्टेट, घरेलु उपभोग र निजी लगानीमा आएको सुस्ततालाई केही हदसम्म सन्तुलन गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ। चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात १७.६ प्रतिशत र आयात २६.६ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ।

    क्षेत्रगत रूपमा हेर्दा दक्षिणपूर्वी एसियातर्फ चीनको निर्यात करिब ३५ प्रतिशतले बढेको छ। युरोपेली सङ्घतर्फ १८ प्रतिशत, ल्याटिन अमेरिकातर्फ २८ प्रतिशतभन्दा बढी तथा अमेरिकातर्फ पनि करिब १४ प्रतिशत निर्यात वृद्धि भएको छ। विश्लेषकहरूका अनुसार गत वर्ष अमेरिकी उच्च भन्सार महसुलका कारण आएको गिरावटको आधार प्रभावले पनि पछिल्लो वृद्धिमा भूमिका खेलेको छ।

    यद्यपि चीनसँगको बढ्दो व्यापार असन्तुलनलाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। सम्भावित व्यापार अवरोध कम गर्न चिनियाँ कम्पनीहरूले युरोपसहित विभिन्न क्षेत्रमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन् भने दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि आफ्नो उपस्थिति सुदृढ बनाइरहेका छन्।

    बिएनपी पारिबास सेक्युरिटिज (चीन)का वेई लीका अनुसार आगामी महिनाहरूमा पनि निर्यात वृद्धि कायम रहने सम्भावना रहे पनि यसको गति केही सुस्त हुन सक्छ। विशेषगरी अटोमोबाइल र एआईसँग सम्बन्धित उत्पादनको व्यापार विश्वव्यापी माग तथा विभिन्न देशका नियामकीय नीतिमा निर्भर रहने उहाँको भनाइ छ।

    चीनले बुधबार अप्रिल–जुन त्रैमासिक आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरिरहेको छ। सरकारले चालु वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले हालै चीनको सन् २०२६ को आर्थिक वृद्धिदरको अनुमान ४.६ प्रतिशत पुर्‍याएको छ भने सन् २०२७ मा ४.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।

    यद्यपि उपभोक्ता खर्च बढाउन सरकारले अटोमोबाइल तथा घरेलु उपकरणमा ‘ट्रेड–इन’ अनुदानजस्ता कार्यक्रम सञ्चालन गरिरहेको भए पनि सुस्त आर्थिक गतिविधिका कारण चिनियाँ उपभोक्ता अझै ठूलो मूल्यका वस्तु खरिदमा सावधानी अपनाइरहेका छन्।



    फास्ट न्युज    
  • २०८३ असार ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट