काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण पटक–पटक क्षति बेहोरेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डलाई वर्षायामभरि सञ्चालनयोग्य राख्न विशेष तयारी गरिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले सडक कुनै कारणले अवरुद्ध भए अधिकतम ३० मिनेटभित्र पुनः सवारी सञ्चालन गराउने व्यवस्था मिलाइएको जनाएको छ।
कार्यालयका अनुसार राजमार्ग पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै पुनर्निर्माण सम्पन्न भएका ट्र्याकबाट पूर्ण रूपमा सवारी सञ्चालन गरिनेछ। कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले वर्षायाममा सम्भावित विपद्लाई ध्यानमा राखेर आवश्यक उपकरण, मेसिन र जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार सडकमा अवरोध उत्पन्न भए तत्काल परिचालन भई आधा घण्टाभित्र सडक खुलाउने लक्ष्य लिइएको छ।
काठमाडौंलाई पूर्वी तथा मध्यपहाडी जिल्लासँग जोड्ने यो प्रमुख राजमार्ग विगतका वर्षहरूमा वर्षा सुरु भएसँगै बारम्बार अवरुद्ध हुने गरेको थियो। विशेषगरी रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सनहरू बाढीले बगाउँदा यातायात सेवा प्रभावित हुने समस्या दोहोरिने गरेको थियो। अहिले भने अधिकांश प्रभावित क्षेत्रमा पुरानै ट्र्याक पुनर्स्थापना गरी सवारी सञ्चालन भइरहेको छ।
चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्मका अधिकांश खण्डमा पुरानै मार्ग प्रयोगमा ल्याइएको छ। साथै चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा र पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त मान्दै ग्राभेल बिछ्याउने तथा ठूला ढुङ्गा राखेर सडक थप मजबुत बनाउने काम भइरहेको कार्यालयले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया