काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१औँ बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्ताव प्रस्तुत गरिनेछन्।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ संसद्मा प्रस्तुत गर्नेछिन्। यसअघि उनले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव संसद्मा राख्नेछन्। यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)सँग सम्बन्धित दुईवटा महासन्धिमाथि विचार गरियोस् भन्ने छुट्टाछुट्टै प्रस्ताव पेस गर्नेछन्। ती प्रस्तावमा बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ तथा श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) समावेश रहेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया