logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • विश्वकप फुटबलमा नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी

    727Shares
    विश्वकप फुटबलमा नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी

    काठमाण्डौ – फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि ५–१ को फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

    समूह ‘ई’ अन्तर्गत क्यानडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्‍यो । खेलको ३०औँ मिनेटमा कप्तान फ्रान्क केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डाभले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जित निकालेको हो ।

    डेनिस उन्डाभले ६८औँ मिनेटमा र इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै जर्मनीलाई महत्त्वपूर्ण जित दिलाए । यो जितसँगै जर्मनीले दुई खेलबाट ६ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ । आइभरी कोस्ट ३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

    समूह ‘एफ’ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ गोल अन्तरले जित हासिल गर्‍यो । नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोबीले खेलको छैटौँ र १७औँ मिनेटमा गोल गरे ।

    दोस्रो हाफको सुरुमै कोडी गाक्पोले अर्को गोल थपे भने ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४–० बनाए । स्वीडेनका एन्थोनी एलांगाले एक गोल फर्काए पनि खेलको ८९औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको सहज जित सुनिश्चित गरे ।

    उता समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडरबीचको खेल गोलरहित बराबरी भएको छ । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । कुराकाओ जर्मनीसँग ७–१ गोलले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १ गोलले पराजित भएको थियो । आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले १–१ अङ्क जोडेका छन् ।

    विश्वकप फुटबलमा अहिले बिहान पौने १० बजे ट्युनिसिया र जापानले खेल्दैछन् । गएराति भएको खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा पुगेको छ । यस्तै स्वीडेनमाथि ५–१ गोलको फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ ।



    फास्ट न्युज    
  • २०८३ असार ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट