logo

२०८३ जेष्ठ ३१ आईतवार

logo
  • २०८३ जेष्ठ ३१ आईतवार
  • ‘इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौता हुन सक्ने’

    733Shares
    ‘इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौता हुन सक्ने’

    काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका लागि आज ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन्। यद्यपि, इरानले भने ट्रम्पको यो समयसीमालाई अस्वीकार गर्दै आगामी केही दिनभित्र मात्रै हस्ताक्षर हुन सक्ने जनाएको छ।

    सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले सम्झौतालगत्तै विश्वकै प्रमुख व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्म्युज’ सबैका लागि खुला हुने बताएका छन्। साथै, ट्रम्पले सम्झौतापछि अन्ततः इरानको आणविक सामग्री अमेरिकाको नियन्त्रणमा आउने र त्यसलाई नष्ट गरिने दाबी समेत गरेका छन्।

    यस विषयमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छिमेकी मुलुक पाकिस्तानले पनि २४ घण्टाभित्र सम्झौता टुङ्गोमा पुग्ने अपेक्षा गरिएको र ‘इलेक्ट्रोनिक हस्ताक्षर’ का लागि तयारी भइरहेको जनाएको छ। तर, ट्रम्पको सोसल मिडिया पोस्टअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी दाबीप्रति सावधानी अपनाउन आग्रह गरेका थिए। उनले भनेका थिए, “समझदारी पत्रमा हस्ताक्षर हुने निश्चित मितिका लागि हामीले पर्खनुपर्ने हुन्छ, तर त्यो आइतबार भने हुने छैन।”

    दशकौँदेखि पश्चिमी देशले इरानमाथि आणविक हतियार निर्माण गर्न खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले खण्डन गर्दै आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र विद्युत उत्पादनका लागि मात्र भएको बताउँदै आएको छ। ट्रम्पले यदि यो वार्ता “छिटो, सहज र शान्तिपूर्ण रूपमा” अगाडि नबढे वासिङ्टनसँग ‘अन्तिम विकल्प’ तयार रहेको चेतावनी दिँदै त्यसको प्रयोग गर्न नपरोस् भन्ने कामना समेत गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ३१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट