logo

२०८३ जेष्ठ १८ सोमबार

logo
  • २०८३ जेष्ठ १८ सोमबार
  • रास्वपा सभापति लामिछाने आज भारत प्रस्थान गर्दे, उच्चस्तरीय कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम

    739Shares
    रास्वपा सभापति लामिछाने आज भारत प्रस्थान गर्दे, उच्चस्तरीय कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी  (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्ने रास्वपाले जनाएको छ ।

    पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । लामिछानेले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्ने जनाइएको छ । भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि सभापति लामिछानेले भेटघाट गर्नेछन् । साथै अयोध्याको भ्रमणका समेत कार्यक्रम रहेको जनाइएको छ ।

    सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन्। रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्ति अनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ । रास्वपाले उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबिचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

    यसैविच राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै मूल आयोजक समिति गठन गरेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको समितिले आगामी महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र सङ्गठनात्मक रूपमा सुदृढ बनाउने लक्ष्य लिएको छ ।

    पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन २०८३ असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय भएको छ । महाधिवेशनलाई सफल बनाउन गठन गरिएको मूल आयोजक समितिमा वरिष्ठ नेतादेखि केन्द्रीय सदस्य र प्रदेश सभापतिसम्म समेटिएका छन् । सभापति लामिछानेको अध्यक्षतामा गठन गरिएको महाधिवेशन मूल आयोजक समिति सदस्यहरूमा उपसभापति डा। स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, मनीष झा, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाललगायत नेता रहेका छन्। पार्टीका सबै केन्द्रीय समिति सदस्य तथा प्रदेश सभापतिहरूलाई पनि महाधिवेशन तयारी प्रक्रियामा संलग्न गराइएको छ ।

    यसैबिच पार्टी सचिवालय बैठकले पनि सङ्गठन विस्तार र महाधिवेशन तयारीलाई मुख्य कार्यसूची बनाएर विस्तृत छलफल गरेको थियो । बैठकमा समसामयिक राजनीतिक अवस्था, सङ्गठन सुदृढीकरण तथा पार्टीका पछिल्ला गतिविधिबारे समीक्षा गरिएको थियो । बैठकमा अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागको मनोनयन, सम्भावित कारबाहीका विषय, प्रदेश अधिवेशन सञ्चालन कार्यविधि र महाधिवेशनसँग सम्बन्धित संरचनागत तयारीबारे छलफल भएको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट