काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रमा नेपाल–चीनबीचको सहकार्य र सहयोग विस्तारबारे छलफल भएको थियो। विशेषगरी विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको विस्तार, संस्थागत सुदृढीकरण तथा समसामयिक विषयहरूमा कुराकानी केन्द्रित रहेको थियो।
भेटमा दुई पक्षबीच ऐतिहासिक द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यलाई अझ मजबुत बनाउने विषयमा समेत चर्चा भएको थियो।
मन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, डिजिटल शिक्षाको विस्तार र संस्थागत क्षमता अभिवृद्धिमा चीनसँगको साझेदारी अझ बढाउनुपर्नेमा जोड दिएका थिए। साथै, उनले शिक्षा क्षेत्रमा सञ्चालित परियोजनाहरू समयमै सम्पन्न गर्न र नेपाली युवाहरूको रुचिअनुसार चिनियाँ छात्रवृत्ति कार्यक्रम विस्तार गर्न आग्रह गरेका थिए।
चिनियाँ राजदूत माओमिङले नेपाल सरकारका प्राथमिकतामा चीन सहकार्य गर्न तयार रहेको बताउँदै आगामी दिनमा साझेदारी थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटमा दुई देशबीच आपसी हित र बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने समझदारी समेत बनेको जनाइएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया