logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट

    826Shares
    प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट

    काठमाडौँ — देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन् । विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार, विशेषगरी काठमाडौं आउने रुटमा जोखिमपूर्ण बादल प्रणाली सक्रिय भएपछि धेरै विमान गन्तव्यमा अवतरण नगरी फर्काइएका वा डाइभर्ट गरिएका छन् ।

    बस्नेतका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको एटीआर विमान जनकपुर फर्किएको छ भने झापाको चन्द्रगढीबाट आएको बुद्ध एयरको अर्को एटीआर विमान पनि अवतरण असम्भव भएपछि चन्द्रगढी नै फर्किएको छ । यस्तै, विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको अर्को विमान समेत पुनः विराटनगर नै फर्काइएको छ भने यति एयरलायन्सको विराटनगर-काठमाडौं उडान पनि गन्तव्यमा अवतरण गर्न नसकी विराटनगरमै फर्किएको छ ।

    श्री एयरलाइन्सको धनगढीबाट काठमाडौंका लागि उडेको विमान पनि खराब मौसमका कारण धनगढीमै फर्काइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ, चाइना ईस्ट्रन एयरलायन्सको कुन्मिङबाट काठमाडौं आउँदै गरेको विमान पुनः कुन्मिङ नै फर्किएको छ । यस्तै, इन्डिगो एयर को दिल्ली-काठमाडौं उडान महोत्तरीमाथिको आकाशमा करिब ३० मिनेट ‘होल्ड’ मा राखिएपछि अन्ततः दिल्ली डाइभर्ट गरिएको छ ।

    हाल काठमाडौं प्रवेश गर्ने हवाई रुटमा दृश्य (भिजिबिलिटी) करिब ४ हजार मिटर रहेको छ, जुन सामान्यतया अवतरणका लागि पर्याप्त मानिन्छ । तर उक्त रुटमा गर्जन चट्याङसहित आँधीबेहरी ल्याउने क्युमुलोनिम्बस बादल अत्यधिक सक्रिय रहेकाले उडान जोखिम बढेको छ ।

    यस्ता बादलबाट तीव्र वर्षा, असिना र शक्तिशाली हावाहुरी उत्पन्न हुने भएकाले पाइलटहरूले सुरक्षित दूरी कायम गर्दै रुट परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । इन-रुट मौसम प्रतिकूल रहेकाले काठमाडौंबाट बाहिरने आन्तरिक उडानहरू समेत सावधानीस्वरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् ।
    ‘हाल मौसमका कारण उडानहरू प्रभावित भएका छन् । सुरक्षा प्राथमिकतामा राख्दै आवश्यक निर्णय लिइएको हो । मौसममा सुधार आएपछि उडानहरू क्रमशः सामान्य हुनेछन्,’ प्रवक्ता बस्नेतले भने ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट