काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शुरु गरेको छ । कार्यवाहक मेयर सुनिता डंगोलले जेष्ठ नागरिकका लागि स्वास्थ्य सेवा अस्पतालमा सीमित नराखी घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा दिन शुरू गरेको जानकारी दिनुभयो ।
जटिल बिरामीलाई अस्पतालसम्म लैजाने काममा समेत महानगरले सहजीकरण गर्ने उहाँको भनाइ छ । डंगोलले वक्तव्य निकालेर भन्नुभएको छ, ‘अब स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन । ७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा काठमाण्डौ महानगरपालिकाले शुरू गरेको छ । स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवद्र्धनसम्मको सहजीकरण, नियमित परीक्षण, आवश्यक औषधि, परामर्शदेखि जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण—सबै सेवा घरदैलोमै ।’
काठमाण्डौ महानगरपालिकाले हिजोदेखि महानगरभित्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडाहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन आवश्यक पर्ने तथ्य संकलन र स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको महानगरले जनाएको छ ।
ज्येष्ठ नागरिकहरुको आवश्यकता र आवाज बुझ्न कार्यवाहक मेयर डंगोल वडा नम्बर ३१ र २७ मा पुग्नुभएको हो । महानगरका अनुसार आर्थिक अवस्था कमजोर भएका, परिवारका सदस्य साथमा नभएका, परिवारका सदस्य पनि आफू जस्तै अशक्त भएका, दीर्घ रोगका कारण हिँडडुल गर्न नसकेका, नियमित स्वास्थ्य संस्थामा जाँच गर्न जान नसकेका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया