काठमाडौं । नेपाली कांग्रेसका तीनवटा समूहबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा उम्मेदवार छनोटको विषयमा छलफल भएको छ।
सोमबार राति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा सम्पन्न बैठकमा कांग्रेस प्रवक्ता देवराज चालिसे र नेता मधु आचार्य, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक तथा डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल सहभागी थिए।
उम्मेदवार मनोनयनको समय नजिकिँदै जाँदा टिकट वितरणलाई लिएर देखिएको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यले तीनवटै समूहका नेताबीच छलफल भएको हो। निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
मनोनयनका लागि अब एक दिन मात्र बाँकी रहेकाले आन्तरिक मतभेदलाई केही समयका लागि थाती राख्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुंग्याउन नेताहरू सक्रिय भएका छन्। बैठक आज पनि बस्ने बताइएको छ। तीन समूहको सहमतिमा सम्भावित उम्मेदवारहरूको नाम संकलन गरिने र त्यसपछि संसदीय बोर्डमार्फत अन्तिम निर्णय लिइने जनाइएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया