काठमाडौं, भदौ २१ – नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा छलफलको केन्द्रमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रहिन्। शनिबार १० समूहमा विभाजन गरेर गरिएको समूहगत छलफलमा धेरैजसो प्रतिनिधि भण्डारीको पक्षमा खुलेर प्रस्तुत भए। पार्टी नेतृत्वले राजनीतिक, सांगठनिक, विधान संशोधनसहित विभिन्न आयोगका प्रतिवेदन छलफलका लागि प्रस्तुत गर्दा भूगोल तथा गैरभौगोलिक समूहहरूका धेरै सदस्यले भण्डारीको राजनीतिमा पुनः आगमनलाई समर्थन जनाएका छन्।
सुदूरपश्चिम प्रदेश समूहबाट ४९ जना प्रतिनिधिमध्ये ४० जनाले स्पष्ट रूपमा भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने धारणा राखे। तीमध्ये लक्ष्मण मरासिनी मात्रै विपक्षमा उभिए। बागमती प्रदेशबाट छलफलमा भाग लिएका ८२ जना प्रतिनिधिमध्ये पनि उल्लेख्य संख्याले भण्डारीको पक्षमा आवाज उठाए। स्थायी कमिटी सदस्य अरुण नेपाल, पोलिटब्युरो सदस्य टंक कार्की, केन्द्रीय सदस्य शर्मिला कार्की, सरिता न्यौपाने, र काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलासहित धेरै नेताले भण्डारीलाई रोक्नु नहुने धारणा राखे। बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पनि भण्डारीको समर्थन गरेपछि अध्यक्ष केपी शर्मा ओलीमाथि थप दबाब परेको छ।
नुवाकोटका नेता नारायण खतिवडाले यदि भण्डारीलाई रोक्ने निर्णय भयो भने आगामी निर्वाचनमा पार्टीले नोक्सान भोग्नुपर्ने चेतावनी दिए। बागमतीबाट रामेश्वर फुयाल र मधुसूदन पौडेलले मात्रै भण्डारीको विरोधमा बोले। बागमती समूहका अन्य नेताहरू भने मौन बसे। पार्टीका सल्लाहकार समिति, आयोजक समिति, केन्द्रीय विभाग र आयोगहरूमा भने भण्डारीको पक्ष र विपक्षमा प्रतिनिधिहरू झण्डै ५०–५० प्रतिशत विभाजित देखिए। नेताहरू विनोद ढकाल, कृष्ण दाहालजस्ता व्यक्तिहरूले पनि भण्डारीलाई रोक्नु नहुने धारणा राखे।
मधेस प्रदेशबाट छलफलमा भाग लिएका २२ जना प्रतिनिधिमध्ये अधिकांशले, विशेषतः अरविन्द सिंहले, भण्डारीको राजनीतिमा पुनः प्रवेशलाई उचित ठाने। जनसंगठन, सम्पर्क समन्वय समिति, प्रवास कमिटी तथा आयोगका सदस्यहरूले पनि भण्डारीको सक्रियता एमालेको हितमा हुने बताए। लेखा आयोग सचिव विष्णु बहादुर राउतले पूर्वराष्ट्रपतिलाई रोक्दा पार्टीले २०८४ को चुनावमा घाटा व्यहोर्नुपर्ने चेतावनी दिए।
तर, स्थायी कमिटी सदस्य लालबाबु पण्डितले भने भण्डारीको पक्षमा बोल्न निषेध गर्न खोज्दा छलफलमा भनाभनको अवस्था सृजना भयो। गैरभौगोलिक समूहले उनलाई टोली नेता बन्न अस्वीकार गरेपछि स्थिति झनै पेचिलो बनेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया