काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले चौथो खेलमा पहिलो जीत निकालेको छ । पार्मस्टनमा मंगलबार भएको खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो ।
नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको होबर्टले १६ ओभर १ बलमा १ सय १४ रन बनाउँदा सबै विकेट गुमायो । होबर्टका ब्राडली होपले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका नन्दन यादवले ५ तथा कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र र कुशल भुर्तेलले १र१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनायो । नेपालका आरिफ शेखले ३३, आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले ११ बलमा नटआउट २५ रन जोडे । होबर्ट हरिकेन्सका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले २र२ विकेट लिए ।
टप इन्ड टी–२० शृङ्खलामा नेपाल यसअघिका ३ वटै खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ वटा खेल खेल्नेछन् । प्रतियोगिता अन्तर्गत नेपालले बुधबार मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ । यो शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया