काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरेसँगै पूर्वी नेपाल नजिक पुगेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा तीव्र हुने मौसमविदहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशीदेखि लुम्बिनीसम्मका धेरै जिल्लामा अघिल्लो दिनको तुलनामा आज र भोलि बढी वर्षा हुने सम्भावना छ। मधेश प्रदेश, जुन हाल सुक्खा अवस्थाबाट प्रभावित छ, त्यहाँ पनि हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागकी मौसमविद् बिनु महर्जनका अनुसार, आज राति मधेश प्रदेशको पूर्वी भाग र भोलि राति पुरै मधेश प्रदेशभर हल्कादेखि मध्यम खालको वर्षा हुन सक्नेछ। धेरै दिनदेखि मनसुन सक्रिय भए पनि मधेशमा वर्षा नपरेपछि सरकारले केही भूभागलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। वर्षा नहुँदा धान रोपाइँ ठप्प छ र रोपिएका खेतहरू समेत चिरा परेका छन्। तर, आज र भोलिको सम्भावित वर्षाले केही राहत मिल्न सक्ने आशा गरिएको छ। यद्यपि, वर्षाको परिमाणबारे यकिन गर्न गाह्रो रहेको मौसमविद्हarू बताउँछन्।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने ती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महर्जनले जनाएकी छिन्। गएराति ओखलढुंगाको मानेभञ्ज्याङ, सिन्धुलीमाडी, पर्वतको पञ्चासे, अर्घाखाँची लगायतका ठाउँमा भारी वर्षा मापन गरिएको थियो।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले मनसुन सक्रियतासँगै काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको चेतावनी दिएको छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बग्ने साना नदीहरूमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको खतरा रहेको छ। त्यस्तै इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वतलगायत जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
अन्य जोखिमयुक्त जिल्लामा लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर र दार्चुला समेत परेका छन्। विभागले यी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया