logo

२०८३ श्रावण १० आईतवार

logo
  • २०८३ श्रावण १० आईतवार
  • भाषा संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

    1.1KShares
    भाषा संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबीच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा उहाँलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले दिएका शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि कामना गरे ।

    भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

    भानुभक्तीय रामायण नेपाली भाषा लिपिको प्रवर्द्धन गर्ने तथा धर्म, कर्तव्य, निष्ठा, सेवाभाव आदि विषयलाई मानवीय जीवनमा उपयोग गर्न सहयोग पुर्याउने रचना भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

    भानुभक्तको जन्मस्थललाई साहित्यिक तथा आदिकविको ऐतिहासिक सांस्कृतिकस्थलका रूपमा विकास गर्न सकेमा नै उनीप्रति हाम्रो सच्चा सम्मान हुने राष्ट्रपति पौडेलले उल्लेख गरे ।उनले भानुभक्त आचार्यलाई सम्मानका साथ स्मरण गर्दै सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै भाषा संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

    पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा विसं १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ । -रासस



    फास्ट न्युज    
  • २०८२ असार २९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट