काठमाण्डौ। लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबार सनराइजर्स हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ सम्भावना सकिएको हो । प्लेअफ होडबाट यसअघि नै बाहिरिएको हैदराबादले लखनउलाई ६ विकेटले हरायो । लखनउले दिएको २०६ रनको लक्ष्य हैदराबादले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले आक्रामक अर्धशतक प्रहार गरे । उनी २० बलमा ४ चौका र ६ छक्कासहित ५९ रन बनाएर आउट भए । हेनरिच क्लासेनले ४७, इशान किशनले ३५ तथा कामिन्दु मेन्डिसले अविजित ३२ रन बनाउँदा रिटायर्ड भए । लखनउका लागि दिग्वेश राथीले २ तथा विलियम ओरोर्कले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाएको थियो । लखनउका लागि दुई ओपनर एइडेन मार्करम र मिचल मार्शले अर्धशतक बनाए । मार्शले ६५ तथा मार्करमले ६१ रन बनाए । निकोलस पूरनले ४५ रन बनाए । योसँगै आठौं स्थानको हैदराबादले १३ खेलमा चौथो जित निकाल्दै ९ अंक जोडेको छ भने १२ खेलमा १० अंक भएको लखनउ सातौं स्थानमा छ र प्लेअफ होडबाट बाहिरिएको छ । अब मुम्बई र दिल्लीमध्ये एक टोली प्लेअफमा पुग्नेछन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया