काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । छापा मारेर आयोगले प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका सबै कम्पनीहरुको कागजात नियन्त्रणमा लिएको छ । आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।
बोर्डका सहायक प्रवक्ता टोलकान्त न्यौपानेले अख्तियारको टोली बोर्डमा आएको र आईपीओ निष्काशनको स्वीकृति माग्दै बुझाएका कागजातहरु आफ्नो नियन्त्रणमा लिएको जानकारी दिएका छन् । ‘पाइपलाइनमा जलविद्युतका ३३ सहित ८९ कम्पनीको कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगेको छ’, उनले भने । बुधबार दिउँसो अख्तियारको टोली बोर्डमा पुगेको हो ।
लामो समयसम्म आईपीओ निष्काशनको स्वीकृति बोर्डले अड्काउँदै आएको थियो । यसमा जलविद्युत् कम्पनीहरुसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलिया खटाएर प्रतिआयोजना ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको खबर सार्वजनिक भएको थियो । जलविद्युत् कम्पनीहरुले कमिसन मागिएको भन्दै आइतबार अख्तियारमा उजुरी गरेका थिए। मंगलबार मात्रै उनीहरुले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) सँग छलफल गरी बोर्डसँग औपचारिक जानकारी माग्ने बताएका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया