logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा

    889Shares
    प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ । तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रुपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लाग्नुभएका पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिने भएको हो । यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा यो पहिलो पल्ट हो ।

    नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उहाँको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको थियो। शर्मा उक्त पुरस्कार पाउने पहिलो पत्रकार महिला हुनुहुन्छ ।

    यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका अग्रज पत्रकार बद्री सिग्देललाई प्रदान गरिने निर्णय भएको छ । उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपियाँ रहेको छ ।

    काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो । पत्रकार सिग्देलले विस २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गर्नुभएको हो । उहाँले विभिन्न सञ्चारमाध्यममा राजनीति, कानुन, मानवअधिकार, वातावरणीय न्यायजस्ता विषयमा केन्द्रित रही पत्रकारिता गर्दै आउनु भएको छ । उहाँ हाल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को एसिया प्रशान्त क्षेत्रका कार्यकारी सदस्य समेत हुनुहुन्छ ।

    ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम (काठमाडौँ) लाई दिइने काउन्सिलले जानकारी दिएको छ । यसवर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) ले पाउने भएका छन् । क्रियाशील पत्रकारिता पुरस्कार जनही २० हजार राशीको छ ।

    १५ हजार राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट यसवर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक. (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ) पुरस्कृत हुने भएका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट