logo

२०८३ मंसिर २ मंगलवार

logo
  • २०८३ मंसिर २ मंगलवार
  • उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

    868Shares
    उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

    काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ ।

    पर्वको चौथो तथा अन्तिम दिन आज बिहान मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा रहेका नदी, पोखरी, तलाउ तथा जलाशयमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । विभिन्न जलाशय तथा छठघाटमा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।

    सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनुका साथै सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्नु छठ पर्वको विशेषता हो । सूर्य उपासनाको विशिष्ट परम्पराका रूपमा रहेको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ यो पर्व मनाइन्छ ।

    चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरी स्नान गरेर चोखो भोजन गरेका थिए । दोस्रो दिन ‘खरना’ मनाइएको थियो । यस दिन व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ छठी माताको पूजा गरी प्रसाद ग्रहण गर्ने गर्छन् ।

    पर्वको तेस्रो दिन षष्ठी तिथिमा व्रतालुहरूले गहुँ र चामललाई परम्परागत विधिबाट पिसेर तयार पारिएको पिठोबाट ठकुवा, भुसुवा, खजुरिया, पेरुकियालगायतका परिकार बनाएका थिए । साथै विभिन्न फलफूल, मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला र केरा लगायतका सामग्री बाँसका नाङ्लो, कोनिया तथा ढाक्कीमा सजाएर छठघाट पुर्‍याइएको थियो ।

    षष्ठीका दिन साँझ व्रतालुहरूले जलाशयमा पसेर अस्ताउँदो सूर्यलाई सन्ध्याकालीन अर्घ अर्पण गरेका थिए । त्यसैगरी आज बिहान पुनः छठघाटमा पुगेर जलाशयमा पसी उदाउँदो सूर्यलाई प्रातःकालीन अर्घ अर्पण गरेपछि पर्व सम्पन्न हुने धार्मिक परम्परा छ ।

    छठ पर्वको उत्पत्तिबारे विभिन्न धार्मिक मान्यता र किंवदन्ती प्रचलित छन् । महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किराँत राजाको क्षेत्रमा बसेको उल्लेख पाइन्छ । यही समयदेखि छठ मनाउने परम्परा सुरु भएको जनविश्वास छ ।

    त्यस्तै, सूर्य पुराणअनुसार सर्वप्रथम अनुसूयाले छठ व्रत गरेको उल्लेख छ । व्रतको प्रभावले उनले अटल सौभाग्य र प्रेम प्राप्त गरेको धार्मिक मान्यता छ ।

    धार्मिक आस्थासँगै सामाजिक सद्भाव र एकताको पर्वका रूपमा समेत विकसित छठ हिन्दू समुदायका साथै मुस्लिम समुदायका व्यक्तिहरूले पनि मनाउने गरेका छन् । छठमा विभिन्न प्रकारका फलफूल तथा पकवान चढाउने परम्परा छ । यद्यपि सबै सामग्री जुटाउन नसक्नेले गम्हरी धानको चामल मात्र चढाए पनि छठी माता प्रसन्न हुने जनविश्वास रहेको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट