logo

२०८३ भाद्र २ मंगलवार

logo
  • २०८३ भाद्र २ मंगलवार
  • शिक्षा विधेयक टुङ्ग्याउन तथ्य र विज्ञको सुझावमा निर्णय गर्छौँ : मन्त्री पोखरेल

    790Shares
    शिक्षा विधेयक टुङ्ग्याउन तथ्य र विज्ञको सुझावमा निर्णय गर्छौँ : मन्त्री पोखरेल

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका छन् ।

    मन्त्री पोखरेलले सोमबार सामाजिक सञ्जालमार्फत आफूले शिक्षामन्त्रीका रूपमा पदबहाली गरेदेखि नै शिक्षा क्षेत्रका विषयलाई गम्भीरतापूर्वक बुझ्न ‘सुन्ने र सिक्ने’ शैली अपनाउँदै आएको बताएका हुन् ।

    उनका अनुसार पहिलो १०० दिनमा तत्कालीन सुधार र सुशासनका लागि आवश्यक केही नियम तथा निर्देशिकामा काम गरिएको छ । अब मन्त्रालयको प्राथमिकता नयाँ शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन तथा उच्च शिक्षामा समसामयिक सुधारतर्फ केन्द्रित हुनेछ ।

    यसैक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार तथा विद्यालय शिक्षा महाशाखा प्रमुखको टोलीले ‘शिक्षा संवाद’ कार्यक्रममार्फत सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालाका समस्या, सुझाव र अपेक्षा संकलन गरिरहेको छ ।

    कार्यक्रममार्फत स्थानीय तह, शिक्षक, शिक्षा कर्मचारी, अभिभावक, विद्यालय तथा विद्यार्थीका सरोकार प्रत्यक्ष रूपमा सुन्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, शिक्षक, विद्यालय व्यवस्थापन, विद्यालय कर्मचारी, अभिभावक तथा विद्यार्थीका समस्या र सरोकारलाई पनि संवादको प्राथमिकतामा राखिएको छ ।

    स्थानीय तहको भूमिका, विद्यालय व्यवस्थापनका चुनौती तथा शिक्षा क्षेत्रका विविध नीतिगत समस्याबारे प्राप्त सुझावलाई आगामी सुधारको आधार बनाइने मन्त्री पोखरेलले बताएका छन् ।

    भौतिक रूपमा ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन नसक्ने सरोकारवालाले ‘शिक्षा संवाद : सुझाव, समस्या तथा अपेक्षा सङ्कलन फारम’मार्फत आफ्ना सुझाव, समस्या र अपेक्षा पठाउन सक्ने व्यवस्था गरिएको छ । प्राप्त सुझावलाई नीति निर्माण प्रक्रियामा समेटिने मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, शिक्षा विभागले सातै प्रदेशमा स्थानीय सरकारलाई समेत सहभागी गराई शिक्षा विधेयकका विषयमा सुझाव संकलन गर्ने तयारी गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप (एनसीएफ) परिवर्तनका लागि गठित विज्ञ टोलीले पनि आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको जनाइएको छ ।

    मन्त्री पोखरेलले सबै सरोकारवालाको कुरा सुन्दै, आवश्यक विषयमा विज्ञबाट सिक्दै र तथ्यका आधारमा निर्णय गरी शिक्षा विधेयकको काम शीघ्र टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनले शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्न मन्त्रालय स्पष्ट र दृढ रहेको बताए । ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन ९८५१०१४००६ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट