सर्लाही, लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेको छ। भर्खरै रोपिएको धानबाली पानीमुनि परेपछि किसानहरू चिन्तित बनेका छन् भने बस्तीसमेत प्रभावित हुँदा स्थानीय जनजीवन कष्टकर बनेको छ।
सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका–५ छपकैयास्थित बाँध भत्काएपछि बाढी बस्ती र खेतमा पसेको हो। प्राप्त विवरणअनुसार कौडेना–५ छपकैयामा करिब ८ सय बिघा, मलङ्गवा नगरपालिका–६ खुटौनामा ५ सय बिघा र वडा नं. ५ भाडसरमा करिब ३ सय बिघा धानखेत डुबानमा परेको छ।
लगातार चार दिनदेखि डुबान कायम रहँदा केही घर, गोठ तथा सडकसमेत प्रभावित भएका छन्। स्थानीयका अनुसार मलङ्गवा सदरमुकाम जोड्ने सडकमा समेत पानी बगेकाले आवतजावतमा कठिनाइ भएको छ। भारतीय बजारतर्फको आवागमन पनि प्रभावित बनेको जनाइएको छ।
भाडसरका स्थानीय मुमताज मिकरानीले बस्ती र खेतीयोग्य जमिन लगातार डुबानमा पर्दा दैनिक जनजीवन प्रभावित भएको बताए। स्थानीय मोहम्मद समिम अख्तरले सडक माथिबाटै पानी बगेकाले आवतजावतमा समस्या भएको जानकारी दिए।
बाढीले कटान गरेको छपकैयामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा अस्थायी तटबन्ध निर्माणको काम अघि बढाएका छन्। बोरामा बालुवा भरेर भत्किएको बाँध थुन्ने प्रयास भइरहेको छ।
छपकैयाका किसान मोहम्मद इलयास खानले आफूले आठ कठ्ठामा रोपेको धानबाली पूर्ण रूपमा डुबानमा परेको बताए। भर्खरै रोपिएको धान पानीमुनि परेकाले यस वर्ष उत्पादन नै नहुने चिन्ता रहेको उनको भनाइ छ। उनले विगत एक दशकदेखि प्रत्येक वर्ष यही समस्या दोहोरिने गरेको गुनासो गरे।
अर्का किसान रामकिशुन यादवले अस्थायी समाधानले मात्रै समस्या नटुंगिने भन्दै स्थायी तटबन्ध निर्माण गर्न सरकारसँग माग गरेका छन्। गत वर्ष पनि बाँध भत्किँदा धानबाली नष्ट भए पनि कुनै क्षतिपूर्ति नपाएको उनले बताए।
कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारका अनुसार लखन्देही खोलाको कटान र डुबान नयाँ समस्या नभई हरेक वर्ष दोहोरिने समस्या हो। गाउँपालिकाले आफ्नो क्षमताअनुसार नियन्त्रणका काम गर्दै आएको उल्लेख गर्दै उनले दीर्घकालीन समाधानका लागि पर्याप्त बजेट आवश्यक रहेको र सम्बन्धित निकायसँग पहल भइरहेको बताए।
मलङ्गवा–५ भाडसरका श्याम रायले विगत १५ वर्षदेखि बाँध भत्किने र गाउँ डुबानमा पर्ने क्रम नरोकेको भन्दै खेतीपातीमा पटक–पटक क्षति हुँदा उत्पादनसमेत घट्दै गएको बताए। अर्का स्थानीय जमशेद मियाँले पानी निकासको उचित व्यवस्था नहुँदा समस्या दोहोरिने गरेको र ठूलो डुबान हुँदा पनि सरोकारवाला निकायको प्रभावकारी उपस्थिति नदेखिएको गुनासो गरे।
मलङ्गवा नगरपालिका–५ का वडाध्यक्ष मोहम्मद जुल्फकार अलीका अनुसार वडा नं. ५ मा मात्र तीन सय बिघाभन्दा बढी खेत डुबानमा परेको छ। त्यस्तै वडा नं. ६ का वडाध्यक्ष राम कैलाश यादवले पाँच सय बिघाभन्दा बढी धानखेत प्रभावित भएको जानकारी दिएका छन्।
स्थानीयले तत्काल प्रभावकारी राहत, क्षतिको यथार्थ मूल्याङ्कन तथा लखन्देही खोलामा स्थायी तटबन्ध निर्माण गरी हरेक वर्ष दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया