काठमाडौं । सरकारले उचित कारण बिना पेट्रोलपम्प बन्द गरेर इन्धन आपूर्ति असहज बनाउने व्यवसायीमाथि कडा कारबाही गर्ने कानुनी व्यवस्था लागू गरेको छ।
नेपाल आयल निगम ले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै पेट्रोलपम्प बन्द गर्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा ५ दिनदेखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने व्यवस्था गरेको हो।
मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार निगमका डिपोबाट तेल नउठाएपछि बुधबार देशभर इन्धन आपूर्ति प्रभावित भएको थियो। त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ले कानुनी व्यवस्था संशोधन गर्दै कारबाहीको प्रावधान अघि बढाएको हो।
बुधबार साँझ बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ को दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुक्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ भन्ने व्यवस्था थप गरेको छ।
नयाँ व्यवस्थाअनुसार पहिलो पटक कसुर गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक ६ लाख रुपैयाँ जरिवाना तथा १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक १० लाख रुपैयाँ जरिवानासहित १५ दिनसम्म इन्धन आपूर्ति बन्द गरिने प्रावधान राखिएको छ।
यो व्यवस्थासँगै अब उचित कारण बिना पेट्रोलपम्प बन्द गरेर कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही हुने भएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया