काठमाडौँ । काठमाडौँ नजिक रहेको नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित गोकुलेश्वर झरनामा पदयात्रा शुभारम्भ भएको छ । स्थानीय गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिको पहलमा शनिबार उक्त झरनामा व्यावसायिक पदयात्रा र अवलोकन शुभारम्भ गरिएको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष एवं पर्यावरण अभियन्ता बालकृष्ण बस्नेतले एक कार्यक्रमका बीच पदयात्रा शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उहाँले गोकुलेश्वर झर्ना र सँगै रहेको गोकुलेश्वर महादेव दर्शनका लागि पर्यटक भित्र््याउन सके स्थानीयको आयआर्जनमा वृद्धि हुने बताउनुभयो । हाल प्रकृतिमाथि विभिन्न तवरबाट अन्याय भइरहेको सन्दर्भ उल्लेख गर्नुहुँदै उहाँले स्थानीय जनसमुदाय आफैँले पहल गरेर झर्नासहितको पर्यटकीय स्थान पहिचान गरेकामा खुसी व्यक्त गर्नुभयो । “अत्यन्त रमणीय ठाउँको पहिचान र विकासका लागि यहाँहरूले देखाउनुभएको पहलकदमी सराहनीय छ । प्रकृतिलाई बचाउन सकियो भने मात्र हामी पनि बाँच्छौँ र भावी पुस्ता पनि सुरक्षित हुन्छन् भन्ने कुरा हामी सबैले मनन गर्न आवश्यक छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “शिवपुरी क्षेत्रका खोलानाला, वन, झर्नासहितका सम्पदाको संरक्षण र उपयोग गर्न सके स्थानीय जनताको जीवनस्तर उकास्न टेवा पुग्ने पक्का छ । पर्यटन प्रवद्र्धनको माध्यमबाट यहाँका स्थानीय र अर्गानिक सामाग्रीको उत्पादन तथा बिक्रीवितरण बढाएर युवालाई स्वरोजगार बनाउन यस्ता अभियानले सघाउने मैले विश्वास लिएको छु ।”
गोकुलधूप झरना र गोकुलेश्वर महादेव काठमाडौँबाट करिब एक घण्टाको दुरीमा छ । नुवाकोटको शिवपुरी गाउँपालिकामा पर्ने यो झरनास्थलमा काठमाडौँबाट सामाखुसी, गुरुजेभञ्ज्याङ, काफलडाँडासम्म टोखा छहरे सडक हुँदै मोटरसाइकल वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ । मुख्य मार्गमा झरेर झरनासम्म पुग्न करिब चार–पाँच मिनेट पैदल हिँड्नुपर्छ । हालै स्थानीय बासिन्दाले पदमार्ग निर्माण गरेका छन्, जसले यात्रा अझ सहज बनाएको छ ।
गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले स्थानीयवासीको अग्रसरतामा हुने हरेक काममा स्थानीय सरकार सधैँ साथ रहेने बताउनुभयो । उहाँले गाउँपालिकाले शिवपुरी क्षेत्रको पर्यटकीय विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
स्थानीय अगुवा इन्द्रराज सेढाईंको संयोजनमा सम्पन्न भएको पदयात्रा शुभारम्भ कार्यक्रममा राष्ट्रिय समाचार समिति ९रासस० का महाप्रबन्धक सिद्धराज राई, शिवपुरी गाउँपालिका–८ का वडाध्यक्ष केशव रिजालसहित विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा स्थानियको उपस्थिति रहेको थियो ।