logo

२०८३ आश्विन २१ बुधबार

logo
  • २०८३ आश्विन २१ बुधबार
  • कांग्रेस इतर समूहको महाधिवेशनमा ‘जेनजी’लाई अनिवार्य प्रतिनिधित्व

    898Shares
    कांग्रेस इतर समूहको महाधिवेशनमा ‘जेनजी’लाई अनिवार्य प्रतिनिधित्व

    काठमाडौं,  नेपाली कांग्रेसको संस्थापनइतर समूहले समानान्तर रूपमा अघि बढाइरहेको १५औँ महाधिवेशनमा १८ देखि २८ वर्ष उमेर समूहका नवयुवा (जेनजी)लाई सबै तहका कार्यसमितिमा अनिवार्य प्रतिनिधित्व गराउने तयारी गरेको छ।

    इतर समूहका लागि एकराज पोख्रेलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिले तयार गरिरहेको ‘१५औँ महाधिवेशन निर्वाचन निर्देशिका’ मा केन्द्रदेखि वडासम्मका कार्यसमितिमा नवयुवाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको हो। निर्देशिकालाई शनिबार अन्तिम रूप दिने तयारी रहेको स्रोतले जनाएको छ।

    निर्देशिकाको प्रस्तावित व्यवस्थाअनुसार निर्वाचित हुने सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका एक महिला र एक पुरुष नवयुवा अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

    कांग्रेसको विधानअनुसार केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ–नगर र वडा तहका कार्यसमिति रहने व्यवस्था छ। इतर समूहले हाल टोलबाहेकका यी तहमा नवयुवाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी निर्वाचन निर्देशिका बनाउन लागेको हो।

    समावेशी क्लस्टरमा पनि जेनजी

    प्रस्तावित निर्देशिकामा समावेशी समूह (क्लस्टर) बाट निर्वाचित हुने प्रतिनिधिमा समेत १८ देखि २८ वर्ष उमेर समूहका महिला र पुरुष नवयुवालाई समावेश गर्नुपर्ने व्यवस्था राखिएको छ।

    निर्देशिका निर्माणमा संलग्न स्रोतका अनुसार सम्बन्धित क्लस्टरमा तोकिएको उमेर समूहका नवयुवा उपलब्ध नभए अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्न सकिने व्यवस्था पनि राखिएको छ।

    यसैगरी, विषयविज्ञको प्रतिनिधित्व आवश्यक पर्ने स्थानमा विषयविज्ञको उपस्थिति अनिवार्य गर्ने व्यवस्था पनि निर्देशिकामा समेटिएको बताइएको छ।

    असोज १५ देखि वडा अधिवेशन

    इतर समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते देशभर वडा अधिवेशन गर्ने तयारी गरेको छ। त्यसपछि असोज २० गते पालिका अधिवेशन तथा असोज २३ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका अघि सारिएको छ।

    इतर समूहले मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशन तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ भने ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजक तोकिएको स्रोतले जनाएको छ।

    यसैबीच कांग्रेसको अर्को पक्षले भने छुट्टै कार्यतालिकाअनुसार १५औँ महाधिवेशन अघि बढाइरहेको छ। नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार उक्त प्रक्रियामा वडा अधिवेशन भदौ २४ गतेदेखि र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तालिका राखिएको छ।

    यसरी कांग्रेसभित्र १५औँ महाधिवेशनको प्रक्रिया दुई छुट्टाछुट्टै कार्यतालिकाअनुसार अघि बढिरहेका बेला इतर समूहले आफ्नो निर्वाचन प्रक्रियामा नयाँ पुस्ताको प्रतिनिधित्वलाई अनिवार्य बनाउने व्यवस्था अघि सारेको हो।



    फास्ट न्युज    
  • २०८३ आश्विन १०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट