काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतर समूहका आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले असोज ३ गतेदेखि सुरु गर्ने भनिएको संस्थापन पक्षको अधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशनको प्रक्रिया अघि बढाउनु उचित नभएको बताएका हुन्।
‘विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशनमा भाग नलिइयोस्,’ कोइरालाले भने, ‘१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा अधिवेशनलगायत तहका कार्यक्रममा सक्रिय सहभागिता जनाउन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछौँ।’
कोइरालाले अदालतको फैसला नआउँदै वा दुवै पक्षबीच वार्ता र संवादमार्फत सहमति नखोजी एकतर्फी रूपमा अधिवेशन अघि बढाउनु उचित नहुने बताए। उनका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विषय अदालतमा विचाराधीन रहेको अवस्थामा विवादित प्रक्रियालाई अगाडि बढाउँदा कांग्रेसभित्रको समस्या थप जटिल बन्न सक्छ।
‘पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन र महाधिवेशनको कार्यतालिका घोषणा गरिनु दुर्भाग्यपूर्ण छ,’ उनले भने, ‘अदालतको फैसला नपर्खी वा वार्ता र संवादमार्फत सहमति नखोजी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।’
कोइरालाले आफ्नो पक्षले तय गरेको महाधिवेशन प्रक्रियालाई अघि बढाउन नेता–कार्यकर्तालाई सक्रिय हुनसमेत आह्वान गरे। उनले आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन सबैलाई जुट्न आग्रह गरे।
कांग्रेसभित्रको विवाद समाधानका नाममा पद बाँडफाँडलाई मात्रै आधार बनाउने प्रवृत्तिप्रति पनि कोइरालाले आपत्ति जनाए। यस्तो प्रवृत्तिले पार्टीको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कार कमजोर पार्ने उनको चेतावनी थियो।
नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने भन्दै कोइरालाले कांग्रेसको विवाद समाधान विधि, प्रक्रिया, संवाद र सहमतिका आधारमा हुनुपर्नेमा जोड दिए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया