logo

२०८३ भाद्र १३ शनिबार

logo
  • २०८३ भाद्र १३ शनिबार
  • सुरुङ उद्धारमा निर्णायक चरण : चिनियाँ विज्ञ टोलीले थाल्यो स्थलगत अध्ययन

    703Shares
    सुरुङ उद्धारमा निर्णायक चरण : चिनियाँ विज्ञ टोलीले थाल्यो स्थलगत अध्ययन

    रसुवा । बुधबारदेखि सुरुङभित्र फसेकाको उद्धारको प्रतीक्षामा रहेका परिवारजनको चिन्ता बढिरहेका बेला चिनियाँ प्राविधिक विज्ञ टोली घटनास्थलमै पुगेर उद्धारको सम्भाव्यता अध्ययन थालेको छ।

    माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा बाढीपछि फसेका नेपाली तथा विदेशी इन्जिनियर, प्राविधिक र कामदारको अवस्थाबारे जानकारी लिन चीनबाट आएको विशेषज्ञ टोली हेलिकोप्टरमार्फत आयोजनास्थल पुगेको हो।

    छ सदस्यीय चिनियाँ विज्ञ टोली केरुङ हुँदै हेलिकोप्टरबाट सोझै आयोजनाको विद्युत्गृहमा पुगेको बताइएको छ। टोलीमा सुरुङ उद्धारसम्बन्धी विशेषज्ञसमेत रहेको जनाइएको छ।

    घटनास्थल पुगेपछि टोलीले नेपाली सेनाका विज्ञसँग समन्वय गरी सुरुङभित्रको अवस्था, बाढीबाट भएको क्षति तथा उद्धारका लागि अपनाउन सकिने प्रविधिबारे प्रारम्भिक अध्ययन थालेको छ।

    उद्धारका लागि कुन प्रकारका उपकरण र प्रविधि आवश्यक पर्छ भन्ने निर्धारण गर्न टोलीले सुरुङको अवस्थाको प्राविधिक मूल्याङ्कन गर्नेछ। प्रारम्भिक अध्ययनबाट उद्धार सम्भव देखिएमा चीनको सीमावर्ती क्षेत्रमा तयारी अवस्थामा रहेका थप प्राविधिक जनशक्ति तथा उपकरणसमेत तत्काल घटनास्थलमा ल्याउने तयारी गरिएको छ।

    बाढीले आयोजनाको संरचनामा क्षति पुर्‍याएपछि सुरुङभित्र फसेकाको उद्धार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा घटनास्थलमै पुगेर चिनियाँ विशेषज्ञले प्राविधिक अध्ययन थालेपछि उद्धारको सम्भावित विधि पहिचान हुने अपेक्षा गरिएको छ।

    यसअघि नेपाल सरकारले उद्धारलाई प्राथमिकतामा राख्दै छिमेकी मुलुकसँग प्राविधिक सहयोग मागेको थियो। भारतबाट समेत उद्धारमा सहयोग गर्न प्राविधिक टोली परिचालन भइसकेको छ।

    अब चिनियाँ टोलीको स्थलगत अध्ययनपछि सुरुङभित्र फसेकाको वास्तविक अवस्था, उद्धारको सम्भावित प्रविधि र आवश्यक उपकरणबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट