logo

२०८३ भाद्र १२ शुक्रबार

logo
  • २०८३ भाद्र १२ शुक्रबार
  • तिब्बततर्फ फेरि ताल फुटेपछि रसुवामा बाढीको जोखिम, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

    715Shares
    तिब्बततर्फ फेरि ताल फुटेपछि रसुवामा बाढीको जोखिम, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

    रसुवा । चीनको स्वशासित क्षेत्र तिब्बततर्फ नदी थुनिएर बनेको तालबाट फेरि पानी बग्न थालेपछि रसुवाको भोटेकोसी नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढ्दै बाढी स्याफ्रुबेँसीसम्म आइपुगेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १२ः३१ बजे भोटेकोसी नदीमा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको जानकारी प्राप्त भएको हो। महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

    यसअघि भदौ १० गते तिब्बततर्फ नदी थुनिएर बनेको अस्थायी ताल फुटेपछि भोटेकोसी नदी हुँदै नेपालमा भीषण बाढी प्रवेश गरेको थियो। उक्त बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो।

    बाढीपछि तिब्बततर्फ ल्हेन्दे खोला थुनिएर पुनः बनेको तालमा पानी जम्मा हुँदै आएको थियो। अहिले उक्त ताल भरिएर पानी बग्न थालेको जानकारी नेपालले चीनतर्फबाट प्राप्त गरेको हो।

    परराष्ट्र मन्त्रालयबाट प्राप्त सूचनाका आधारमा बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १ः०३ बजे पुनः उच्च सतर्कताको सूचना जारी गरेको हो। महाशाखाले भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेको जनाएको छ।

    रसुवाका प्रमुख जिल्ला अधिकारीले समेत चीनतर्फ ताल फुटेको सूचना प्राप्त भएको र त्यसपछि नेपालतर्फ पानीको सतह बढ्न थालेको बताएका छन्। नेपाल प्रहरीले पनि तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी दिँदै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

    भोटेकोसीको पानी त्रिशूली नदीमा मिसिने भएकाले त्यसको प्रभाव त्रिशूली नदीको तटीय क्षेत्रमा पर्न सक्ने भन्दै मुग्लिनसम्मका नदी किनारका बस्तीलाई विशेष सावधानी अपनाउन भनिएको छ।

    भदौ १० गतेको बाढीबाट भएको क्षति अझै व्यवस्थापन भइरहेका बेला तिब्बततर्फबाट पुनः पानीको बहाव बढेपछि रसुवा र त्रिशूली नदी आसपासका क्षेत्रमा थप जोखिम बढेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट