काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आएका सेठलाई नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा सैन्य छलफलमा सहभागी गराउने कार्यक्रम छ ।
सेठले प्रधानमन्त्री तथा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका बालेन शाहसँग शिष्टाचार भेट गर्ने तयारी छ । त्यसैगरी नेपाली सेनाका प्रधानसेनापति सिग्देलसँग जंगीअड्डामा द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटमा नेपाल–भारत रक्षा सम्बन्ध, दुई देशका सेनाबीचको सहकार्य र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
नेपाल बसाइँका क्रममा सेठले सैनिक मञ्च टुँडिखेल पुगेर वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ ।
भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेपछि सेठको यो पहिलो विदेश भ्रमण हो र उनले पहिलो भ्रमणका लागि नेपाल रोजेका छन् । त्यसैले उनको भ्रमणलाई नेपाल–भारतबीचको सैन्य तथा रक्षा सम्बन्धको निरन्तरताका रूपमा समेत हेरिएको छ ।
भारतीय रक्षा मन्त्रालयले सेठको नेपाल भ्रमणको उद्देश्य दुई देशबीचको रक्षा सहकार्य तथा सैन्य–सैन्य सम्बन्धलाई थप सुदृढ गर्नु रहेको जनाएको छ ।
नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि कायम छ । पारस्परिक सम्मान र दुई देशका सेनाबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको यो परम्पराअन्तर्गत नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन् ।
जनरल धिरज सेठले ३० जुन २०२६ मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनी भारतीय सेनाको उपप्रमुखका रूपमा कार्यरत थिए ।
तीनदिने भ्रमणका क्रममा हुने भेटवार्ता र छलफलले नेपाल–भारतबीच लामो समयदेखि कायम रक्षा तथा सैन्य सहकार्यलाई थप निरन्तरता दिने अपेक्षा गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया