logo

२०८३ आश्विन २० मंगलवार

logo
  • २०८३ आश्विन २० मंगलवार
  • थ्री इडियट्स’का प्रेरणास्रोत सोनम वाङचुकले २६ दिन लामो अनशन तोडे

    991Shares
    थ्री इडियट्स’का प्रेरणास्रोत सोनम वाङचुकले २६ दिन लामो अनशन तोडे

    काठमाण्डाै। भारतीय सामाजिक अभियन्ता तथा चर्चित शिक्षा सुधारक सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्। नीट–यूजी (NEET-UG) प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा बसेका उनले शुक्रबार आफ्नो अनशन तोडेको जानकारी दिएका हुन्।

    सामाजिक सञ्जाल एक्समार्फत वाङचुकले केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन अन्त्य गरेको बताएका छन्।

    उनका अनुसार यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले संयुक्त रूपमा पत्र लेख्दै उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए र अनशन अन्त्य गर्न आग्रह गरेका थिए।

    वाङचुकले लामो छलफलपछि केही महत्वपूर्ण सर्तहरूमा सहमति बनेको र देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय लिएको बताएका छन्। उनले ती सहमतिका विषयमा छिट्टै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी सार्वजनिक गर्ने पनि बताएका छन्।

    अनशन अन्त्य गर्दै उनले देशभर कुनै पनि प्रकारको हिंसा हुन नदिन सबैलाई संयमित, शान्त र जिम्मेवार बन्न आग्रह गरेका छन्।

    भारतमा नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरण सार्वजनिक भएपछि विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आन्दोलनरत छन्। प्रदर्शनकारीहरूले प्रश्नपत्र चुहावटका लागि नैतिक जिम्मेवारी लिँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्।

    यही आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वाङचुक २६ दिनदेखि आमरण अनशनमा बसेका थिए। उनको स्वास्थ्य अवस्थाप्रति बढ्दो चिन्ता व्यक्त भइरहेका बेला अन्ततः वार्ता र सहमतिपछि उनले अनशन अन्त्य गरेका हुन्।

    सोनम वाङचुक भारतका चर्चित इन्जिनियर, शिक्षा सुधारक, आविष्कारक तथा सामाजिक अभियन्ता हुन्। लद्दाखमा वैकल्पिक शिक्षा, वातावरण संरक्षण र दिगो विकासका क्षेत्रमा उनले गरेका कामका कारण उनी अन्तर्राष्ट्रिय रूपमा परिचित छन्।

    बलिउड अभिनेता आमिर खान अभिनीत सुपरहिट चलचित्र ‘थ्री इडियट्स’ (3 Idiots) मा देखाइएको ‘र्यान्चो’ पात्र निर्माणका लागि वाङचुकको जीवन र कार्यबाट महत्वपूर्ण प्रेरणा लिइएको मानिन्छ। यद्यपि चलचित्र उनको आधिकारिक जीवनी होइन, शिक्षा प्रणालीमा परिवर्तनका लागि उनले गरेका प्रयास र नवीन सोचले उक्त पात्रको निर्माणमा उल्लेखनीय प्रभाव पारेको व्यापक रूपमा स्वीकारिन्छ।

    शिक्षा, नवप्रवर्तन र सामाजिक परिवर्तनका पक्षमा निरन्तर आवाज उठाउँदै आएका वाङचुक पछिल्ला वर्षहरूमा लद्दाखका संवैधानिक अधिकार, वातावरण संरक्षण तथा सार्वजनिक नीतिका विषयमा पनि सक्रिय रूपमा अभियान चलाउँदै आएका छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण ८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट