logo

२०८३ आश्विन २ शुक्रबार

logo
  • २०८३ आश्विन २ शुक्रबार
  • सरकारले राजनीतिक दलमाथि प्रतिशोध साँधेको छ , संविधान संशोधनभन्दा यसको रक्षा अहिलेको प्राथमिकता : केपी शर्मा ओली

    931Shares
    सरकारले राजनीतिक दलमाथि प्रतिशोध साँधेको छ , संविधान संशोधनभन्दा यसको रक्षा अहिलेको प्राथमिकता : केपी शर्मा ओली

          काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक व्यवस्था अहिले ‘अपहरित’ अवस्थामा पुगेको दाबी गर्दै त्यसलाई सुदृढीकरणभन्दा पहिले पुनः स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रलाई केवल निर्वाचनसँग जोडेर हेर्न नहुने धारणा राखे। उनका अनुसार चुनाव हुनु मात्रै लोकतन्त्रको पर्याप्त आधार होइन, चुनाव कस्तो राजनीतिक वातावरण, उद्देश्य र स्वतन्त्रताभित्र सम्पन्न भयो भन्ने पक्ष नै लोकतन्त्रको वास्तविक मापन हो।

    उनले विश्वका विभिन्न मुलुकमा नियमित निर्वाचन भइरहे पनि लोकतान्त्रिक मूल्य कमजोर भएको उदाहरण दिँदै नेपाल पनि त्यस्तै अवस्थातर्फ धकेलिएको टिप्पणी गरे। त्यसैले अहिले संविधान संशोधनको बहसभन्दा संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु बढी आवश्यक रहेको उनको भनाइ थियो।

    ओलीले गत वर्षको भदौमा भएको ‘जेन–जी आन्दोलन’लाई हिंसात्मक घटनाको संज्ञा दिँदै वैधानिक सरकारलाई अवैधानिक तरिकाबाट हटाइएको आरोपसमेत लगाए। लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त लोकतन्त्र अहिले संकटमा परेको भन्दै उनले लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

    कार्यक्रममा उनले वर्तमान सरकारमाथि राजनीतिक दलहरूप्रति प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप पनि लगाए। आफूलाई कुनै मुद्दाको आधारबिना १५ दिन हिरासतमा राखिएको घटनादेखि नै राजनीतिक प्रतिशोधको श्रृंखला सुरु भएको दाबी गर्दै त्यसपछि पनि विपक्षी नेताहरूलाई लक्षित गर्दै राज्य संयन्त्रको दुरुपयोग गरिएको उनको आरोप थियो।

    ओलीले एमालेका उपाध्यक्ष विष्णु पौडेल र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको घटनाको उदाहरण दिँदै सरकारले राजनीतिक दललाई अनादर गर्ने, परामर्शबाट बाहिर राख्ने, कुप्रचार गर्ने र झुटा आरोप लगाउने प्रवृत्ति अपनाएको टिप्पणी गरे।

    उनले लोकतन्त्र र संविधानको संरक्षणका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आन्तरिक विवादमा अल्झिनुभन्दा लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि एकजुट हुनुपर्नेमा जोड दिए।



    फास्ट न्युज    
  • २०८३ श्रावण ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट