काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले महामन्त्री गगन थापाको नेतृत्वमा भइरहेको विशेष महाधिवेशनको अभियानलाई ‘परिचालित’ भएको आरोप लगाउँदै त्यसबाट नेपाली कांग्रेस कमजोर बनेको दाबी गरेका छन्। उनले अब बीपी कोइरालाले निर्माण गरेको विचार र सिद्धान्तमा आधारित कांग्रेस पुनः निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
काठमाडौंमा इतर पक्षले आयोजना गरेको केन्द्रीय भेलालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेस बलियो नभए मुलुक नै राजनीतिक दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए। उनले प्रदेशस्तरका भेला सम्पन्न भइसकेको उल्लेख गर्दै अब केन्द्रीय तहबाट पनि आन्दोलनलाई थप सशक्त बनाउने बताए।
बस्नेतले आफूहरूको उद्देश्य पार्टी फुटाउने नभई कांग्रेसलाई मूल विचार र संगठनात्मक मार्गमा फर्काउने रहेको दाबी गरे। “गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइने छैन,” भन्दै उनले वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
उनले गगन थापाको नेतृत्वमा भएको निर्वाचनका कारण कांग्रेस कमजोर बनेको दाबी गर्दै पार्टी “खरानी” भएको टिप्पणी गरे। गगन थापाले काठमाडौं–४ बाट निर्वाचन लडेको भए जमानतसमेत जफत हुने अवस्था आउने उनको जिकिर थियो।
बस्नेतले गगन नेतृत्वको कांग्रेस भदौ २ गतेदेखि महाधिवेशन प्रक्रियामा जाने उल्लेख गर्दै त्यसअघि नै बीपी कोइरालाले निर्माण गरेको वैचारिक धरातलमा आधारित कांग्रेस पुनर्निर्माणका लागि अघि बढ्नुपर्ने बताए।
पार्टीभित्र सहमतिको सम्भावना नरहेको दाबी गर्दै उनले नयाँ राजनीतिक अभियान अघि बढाउन नेतृत्वलाई पनि कुनै हिचकिचाहट नराख्न आग्रह गरे।
प्रतिक्रिया