काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले संगीत, खेलकुद र चलचित्र क्षेत्रलाई सरकारले उद्योगका रूपमा स्वीकार गरेको छ वा छैन भन्ने विषय संसद्मै उठाएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लक्षित गर्दै उनले प्रतिनिधिसभा सचिवालयमा मौखिक उत्तरका लागि प्रश्न दर्ता गराएका हुन्। साम्पाङले उद्योगको कानुनी तथा नीतिगत परिभाषाबारे स्पष्टता माग्दै संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्ने वा नमिल्ने भन्ने प्रश्न गरेका छन्।
साथै, यदि ती क्षेत्र उद्योगअन्तर्गत पर्ने भए आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ती क्षेत्रका लागि कति रकम विनियोजन गरिएको छ भन्ने विवरण पनि उनले सरकारसँग मागेका छन्।
साम्पाङको प्रश्नले सिर्जनात्मक तथा खेलकुद क्षेत्रलाई आर्थिक उत्पादन, रोजगारी र राष्ट्रिय अर्थतन्त्रसँग जोडेर हेर्ने सरकारी दृष्टिकोणबारे संसद्मा बहस हुने संकेत गरेको छ। पछिल्ला वर्षहरूमा चलचित्र, संगीत र खेलकुद क्षेत्रलाई औपचारिक उद्योगको मान्यता तथा आवश्यक नीतिगत सहुलियत दिनुपर्ने आवाज उठ्दै आएका बेला उनको प्रश्नलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिनिधिसभा नियमावलीअनुसार नेपाल सरकारको कार्यक्षेत्रभित्र पर्ने सार्वजनिक महत्वका विषयमा सांसदहरूले सम्बन्धित मन्त्रीसँग मौखिक वा लिखित उत्तर माग्दै प्रश्न दर्ता गर्न सक्ने व्यवस्था छ। साम्पाङले यसपटक मौखिक उत्तर मागेकाले सम्बन्धित मन्त्रालयले संसद्मा प्रत्यक्ष रूपमा जवाफ दिनुपर्नेछ।
संसद् सचिवालयले सम्बन्धित मन्त्रालयबाट जवाफ प्राप्त भएपछि प्रश्नलाई कार्यसूचीमा समावेश गर्नेछ। नियमावलीअनुसार एक दिनमा मौखिक उत्तरका लागि बढीमा २० वटा प्रश्न मात्र सूचीमा राखिने व्यवस्था रहेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया