logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • त्रिशूलीमा खसेका दुईवटा बस अहिलेसम्म भेटिएनन्, चुम्बक फालेर खोजी सुरु

    त्रिशूलीमा खसेका दुईवटा बस अहिलेसम्म भेटिएनन्, चुम्बक फालेर खोजी सुरु

    442
    SHARES
    त्रिशूलीमा खसेका दुईवटा बस अहिलेसम्म भेटिएनन्, चुम्बक फालेर खोजी सुरु

    काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् ।



    सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता लाग्न सकेको छैन । त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ । तर अहिलेसम्म केही पनि फेला पार्न नसकिएको उनले बताए ।

    बगाएर तल पुर्‍याएको हुनसक्ने आशंकमा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिए पनि पत्ता नलागेको एसएसपी पौडेलले बताए । सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको उनले बताए ।

    बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने पनि आशंका गरिएको एसएसपी पौडेलले बताए । तर अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ । त्योभन्दा तल ठूलो भूमरी रहेकाले खोजीमा थप समस्या देखिएको छ ।

    रातिदेखि खोजी गर्दा पनि अहिलेसम्म केही नभेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । ‘दुर्घटना भएदेखि नै खोजी कार्य जारी छ । तर अहिलेसम्म न बस भेटिएको छ, न कुनै यात्रुको अवस्था पत्ता लगाउन सकिएको छ,’ थापाले अनलाइनखबरसँग भने ।

    पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।


    फास्ट न्युज
  • शुक्रबार, २८ असार २०८१
  • सम्बन्धित समाचार