logo

२०८३ बैशाख १६ बुधबार

logo
  • २०८३ बैशाख १६ बुधबार
  • अध्यादेश जारी गर्ने सरकारको निर्णय दु:खद र गम्भीर : कांग्रेस संसदीय दलका नेता आङ्देम्बे

    712Shares
    अध्यादेश जारी गर्ने सरकारको निर्णय दु:खद र गम्भीर : कांग्रेस संसदीय दलका नेता आङ्देम्बे

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अध्यादेश जारी गर्ने सरकारको निर्णयलाई दुखद र गम्भीर भन्दै आलोचना गरेका छन् । संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको उनको भनाई छ । उनले आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास गरेको भन्दै प्रधानमन्त्री बालेन शाहलाई प्रश्न पनि गरेका छन् ।

    यस्तो छ उनको भनाई

    १) लोकतन्त्र प्रक्रिया मात्रै होइन, मूलत: प्रवृत्ति हो l संसद् अधिवेशनको बैठक स्थगित गराएर, अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारको अलोकतान्त्रिक कदम हो l सरकारले दुइवटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएको विषय दुःखद र गम्भीर छ l

    २) संसद् नचलेको समय मुलुकलाई तत्काल आवश्यक परेमा अध्यादेशबाट नयाँ कानुन ल्याउन सकिन्छ तर अहिले त्यस्तो जरुरी परेको केही छैन । छिटो अधिवेशनमा गएर जरुरी विधेयकहरू पारित गर्न सरकारलाई कुनै बाधा पनि छैन l प्रमुख प्रतिपक्ष र अरू राजनीतिक दलहरूसँग सामान्य परामर्श पनि नगरी हतारमा अध्यादेशबाट कानुन बनाउन खोज्नु बलमिच्याइँको राजनीति पनि हो र सार्वभौम संसदको अपमान पनि l

    ३) म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु- आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास ? संसदको गरिमा र मर्मको किन अवमूल्यन ? प्रष्ट शब्दमा यसप्रति हाम्रो विमति छ l

    ४) संवैधानिक परिषद् सम्बन्धी विधेयक संसदीय बहसमा विगत देखि नै थियो र यसलाई नयाँ संसदबाट छिटो टुंग्याउन आवश्यक छ l यसलाई संवाद, सहमति र संसदीय प्रक्रियाबाट परिपक्व ढंगले टुंग्याउन सकिन्छ पनि । यस्तै सहकारी ऐन संशोधनको विषयको गम्भीर विषयलाई पनि संसदबाट नै निष्कर्षमा लानु पर्दछ। तर सरकारले आह्वान गरिसकेको संसदको अधिवेशन स्थगित गरेर अध्यादेश जारी गराउने बाटो सर्वथा अनुचित छ l

    ५) सरकारलाई रचनात्मक सहयोग गर्न नेपाली कांग्रेस संसदीय दल सदैव खुला र सहयोगी रहनेछ तर लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्म मिच्न र उपेक्षा गर्न कुनै हालतमा पनि नदिन प्रतिपक्ष दृढ प्रतिबद्ध छ l



    फास्ट न्युज    
  • २०८३ बैशाख १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट