logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • मन्त्री हेरफेरको एजेण्डा सहित भेट्दैछन् ओली–देउवा, प्रकाशमान डेन्जर जोनमा लेखक र आरजु सेफ

    1.2KShares
    मन्त्री हेरफेरको एजेण्डा सहित भेट्दैछन् ओली–देउवा, प्रकाशमान डेन्जर जोनमा लेखक र आरजु सेफ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मन्त्री हेरफेरका विषयमा आज छलफल हुँदैछ ।

    मन्त्री हेरफेरको एजेण्डासहित आज दिउँसो देउवासँग भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालय स्रोत बताउँछ । प्रधानमन्त्री ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको मनस्थिति बनाइसकेको स्रोत बताउँछ । यही एजेन्डासहित उनले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् । उच्च सरकारी स्रोतका अनुसार, देउवासँग ओलीले केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्दै सरकारको कार्यक्षमता वृद्धिमा सघाउन आग्रह गर्नेछन् ।

     

    ‘मन्त्री फेर्ने योजना कांग्रेसको निर्णयसँग पनि सम्बन्धित छ, त्यसैले प्रधानमन्त्रीज्यूले आफैं फाइनल कुरा गर्दै हुनुहुन्छ’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘विहीबार देउवासँग बैठक हुन्छ । कांग्रेसले नाम दियो भने ठिकै छ, दिएन भने पनि केही दिनभित्रै मन्त्रिपरिषदमा आवश्यक हेरफेर हुन्छ ।’कोको फेरिन सक्छन् रु

    उच्च स्रोतका अनुसार ओलीले अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालगायत केही मन्त्री यथावत् राख्नेछन् । केही मन्त्रीहरूको मन्त्रालय अदलबदल हुनसक्ने सम्भावना पनि रहेको जानकारी प्राप्त छ ।

    उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको कार्यसम्पादनका बारेमा प्रधानमन्त्री ओली असन्तुष्ट देखिए पनि कांग्रेसभित्रको आन्तरिक गुट समीकरणका कारण उनी निर्णयमा पुग्न सकिरहेका छैनन् । यद्यपि देउवासँग उनले यसबारे प्रस्ताव भने लैजाने छन् ।

    तर एमालेका तर्फबाट मन्त्री बनेकाहरूबारे ओली ठूलो दायित्वमा छैनन् । खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित आगमनको संकेतसँगै पार्टीभित्र टक्कराएको शक्ति संघर्षलाई थप विराम लगाउनका लागि ओलीले केही मन्त्रीलाई ‘रेड जोन’मा राखेको एमाले स्रोत बताउँछ । भण्डारी निकट मानिएका ती मन्त्री को हुन् भन्नेबारे बालुवाटारले खुलाउन चाहेन ।

    यस हेरफेरको पूर्वतयारीका क्रममा रक्षामन्त्री मानवीर राईले पाएको अवसर पनि एक वर्षमा विराम लाग्ने देखिएको छ । उक्त मन्त्रालय ओली आफैंले राख्नसक्ने स्रोत बताउँछ ।

     

    लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई आफ्ना तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका शरतसिंह भण्डारी हटाउन लिखित पत्र नै दिइसकेका छन् । प्रधानमन्त्री ओलीले प्राप्त गरेको पत्रमा अब बन्ने मन्त्रीमा सर्वेन्द्रनाथ शुक्लको नाम छ । लोसपा स्रोतले पनि आफ्नो तर्फबाट केही दिनअघि चिठी प्रधानमन्त्रीकहाँ गइसकेको पुष्टि गर्‍यो ।

    उच्च स्रोतका अनुसार भण्डारीले सम्हालेकै मन्त्रालयमा शुक्ल जाने तयारीमा छन् । ‘लोसपाले पठाएको नाम प्रधानमन्त्रीज्यूको खल्तीमै छ’ सचिवालय स्रोतले भन्यो, ‘कांग्रेस र एमालेका मन्त्रीसँगै एकै लटमा बदलौं भनेर मात्र कोटमा राखिछाड्नुभएको हो ।’

    पोखराको जग्गा विवाद अनि घुसकाण्डसँगै विवादमा आएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हटाउन प्रधानमन्त्री ओलीलाई यही मन्त्रिपरिषद् हेरफेरको मौकामा सहज पर्नेछ । केही विवादसहित आन्तरिक प्रश्न झेलिरहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समेत फेरिनसक्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

    ‘ती मन्त्रालयमा विगतमा मन्त्री भइसकेका केही अनुभवी र केही नयाँ नेताहरूले अवसर पाउन सक्नुहुन्छ’, प्रधानमन्त्री निकट स्रोत भन्छ ।

    यसअघि घुसकाण्डमा जोडिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ठाउँमा प्रधानमन्त्री ओलीले एमालेकै भगवती न्यौपानेलाई मन्त्री बनाइसकेका छन् ।

    त्यसअघि शिक्षामन्त्रीमा विद्या भट्टराईको ठाउँमा प्रधानमन्त्रीले रघुजी पन्तलाई मन्त्री बनाइसकेका छन् ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट