खोटाङ। कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गरेका छन् । नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका मन्त्री राईविरुद्ध आज उनकै गृह जिल्ला खोटाङस्थित साकेला गाउँपालिकाका जनता र कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
साकेला गाउँपालिकामा परेको योजनाहरु कटाएको तथा नयाँ योजना कुनै पनि नदिएको भन्दै उनिबिरुद्व नाराबाजी गरिएको थियो। राईविरुद्ध आफ्नै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रम बिथोलेपछि प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेका छन् ।
कार्यकर्ताको अवरोधले कार्यक्रम बिथोलिएपछि मन्त्री र साकेला गाउँपालिकाका प्रमुखबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिए । मन्त्री राईसँग आक्रोशित कार्यकर्ताहरुले आफूहरुको अगाडि मन्त्री र गाउँपालिका अध्यक्ष रविप्रकाश राई बिच वार्ता हुनुपर्नेभन्दै नाराबाजी गरिरहेका छन् ।
मन्त्री राईलाई गाउँपालिका प्रमुख राईले आफ्नो कार्यालयमा कार्यक्रम गर्न नदिएपछि वडा नं.–३ खिदिमास्थित ढाँडेमा उक्त कार्यक्रम सारिएको जनाइएको छ । आफ्नै कार्यकर्ताले कार्यक्रम अवरोध गर्ने जानकारी पाएपछि उनले जिल्लाभरिका आफ्ना समर्थकहरुलाई साकेलामा आउन आग्रह गरेका थिए। उनको आग्रहमा कसैले साथ नदिएपछि मन्त्री राई सुरक्षाकर्मीको ठूलो सङ्ख्यासहित कार्यक्रमस्थल खिदिमा पुगेका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया