काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम गर्न मंसिर १३ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।
प्रशासनका अनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।
पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
यद्यपि, काठमाडौं हुँदै मुग्लिन–आँबुखैरेनी मार्गबाट पोखरा जाने तथा सोही मार्ग हुँदै फर्किने सवारीसाधनको आवागमन भने नियमित रहने सूचनामा उल्लेख छ ।
सडक बन्द हुने समयमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई समय मिलाएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।
यससम्बन्धी थप जानकारी तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय चितवन, नेपाल प्रहरी र सडक डिभिजन कार्यालय भरतपुरसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया