logo

२०८३ मंसिर १० बुधबार

logo
  • २०८३ मंसिर १० बुधबार
  • दशौं राष्ट्रिय खेलकुद: आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै, यस्तो छ खेल तालिका

    886Shares
    दशौं राष्ट्रिय खेलकुद: आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै, यस्तो छ खेल तालिका

    सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ। आज पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीका खेलहरू सञ्चालन हुनेछन्।

    पुरुष फुटबलतर्फ आज दुई खेल हुने तालिका छ। बिहान ९ बजे नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो २ः३० बजे कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन्।

    महिला क्रिकेटतर्फ वीरेन्द्रनगर क्रिकेट मैदानमा दुई खेल आयोजना हुनेछन्। बिहान ९ः३० बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ। यस्तै, दिउँसो १ः१५ बजे कोशी प्रदेशले आयोजक कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

    महिला बास्केटबलमा फुल कोर्ट र थ्री एक्स थ्री विधाका खेल सञ्चालन हुनेछन्। फुल कोर्टतर्फ बिहान ९ बजे नेपाल पुलिस र कर्णाली प्रदेश तथा १० बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

    त्यस्तै, थ्री एक्स थ्री विधामा दिउँसो १२ः१० बजे नेपाल आर्मी र एपीएफ तथा १२ः३० बजे मधेश प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ।

    टेनिसका प्रतिस्पर्धा बर्दियाको गुलरियामा सञ्चालन हुनेछन्। बिहान ८ः३० बजेदेखि सुरु हुने खेलमा महिला एकल र पुरुष युगल विधाका प्रतिस्पर्धा हुनेछन्। दिनभर महिला एकल, पुरुष युगल र मिश्रित युगल गरी कुल १५ खेल सञ्चालन गर्ने तालिका रहेको छ।

    पौडीतर्फ आज विभिन्न ११ विधामा प्रतिस्पर्धा हुनेछ। महिला ८०० मिटर फ्रिस्टाइल र पुरुष ४०० मिटर इन्डिभिजुअल मिडलेबाट प्रतिस्पर्धा सुरु हुनेछ।

    त्यसपछि महिला तथा पुरुष ५० मिटर बटरफ्लाइ, २०० मिटर फ्रिस्टाइल र १०० मिटर ब्याकस्ट्रोकका खेल हुनेछन्। यस्तै, महिला ४×१०० मिटर मिडले रिले, पुरुष ४×२०० मिटर फ्रिस्टाइल रिले तथा मिश्रित ४×५० मिटर मिडले रिलेतर्फ पनि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। पौडीका खेल स्वचालित टाइमिङ प्रणालीमार्फत सञ्चालन गरिनेछ।

    प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि प्रतिस्पर्धात्मक खेलहरू मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्। कर्णाली प्रदेशमा जारी प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।



    फास्ट न्युज    
  • २०८३ मंसिर १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट