कांग्रेसको रूपान्तरण भनेको सभापतिको कुर्सीमा गगन थापा बस्नु र उपसभापतिको कुर्सीमा विश्वप्रकाश शर्मा बस्नु मात्र होइन । देउवा र खड्का निवर्तमान हुनु मात्रै पनि रूपान्तरणको अन्तिम प्रमाण हुन सक्दैन । रूपान्तरण त त्यतिबेला देखिन्छ, जब पार्टीको राजनीतिक दृष्टिकोण बदलिन्छ, निर्णय प्रक्रिया पारदर्शी हुन्छ,
नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस अहिले एउटा रोचक मोडमा पुगेको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापतिको जिम्मेवारीमा पुगेपछि के कांग्रेस साँच्चिकै रूपान्तरित भयो ? शेरबहादुर देउवा र पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, प्रकाशमान सिह, डा. शेखर कोइराला कृष्णप्रशाद सिटाैला जस्ता पुरानो नेतृत्व पुस्ता निवर्तमान हुँदैमा कांग्रेसको चरित्र, कार्यशैली र राजनीतिक दृष्टिकोण बदलियो ? कि परिवर्तनको नाममा केवल अनुहार फेरिएको हो ? यिनै प्रश्नको जवाफ अब कांग्रेसले व्यवहारबाट दिनुपर्ने अवस्था आएको छ ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट बनेको कांग्रेसको नयाँ कार्यसमितिको वैधानिकतासम्बन्धी विवादमा पुनरवलोकनको अनुमति दिएपछि पार्टीभित्रको तनाव थपिएको छ । यहीबीच लामो समयदेखि उपचारका लागि बाहिर रहेका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने सन्दर्भले कांग्रेसको राजनीतिमा अर्को मनोवैज्ञानिक तरंग पैदा गरेको छ ।
तर प्रश्न देउवा आए भन्ने मात्र होइन । देउवा फर्कंदा गगन र उनको समूहमा छटपटी हुनुपर्ने हो कि एउटा पुरानो राजनीतिक पुस्ताका नेताको स्वास्थ्यलाभपछि स्वदेश आगमनलाई सहज र मानवीय ढंगले स्वागत गर्न सक्नुपर्ने हो ? राजनीति प्रतिस्पर्धा हो, तर प्रतिस्पर्धा मानवीय संवेदनाभन्दा माथि हुन सक्छ र ?
कांग्रेसको रूपान्तरणको बहसमा यही ठाउँमा नैतिकताको प्रश्न जोडिन्छ । नेतृत्व परिवर्तन चाहनु स्वाभाविक हो । पुस्तान्तरणको माग पनि अस्वाभाविक होइन । तर आफूले विगतमा उठाएका नैतिक प्रश्नहरू सत्तामा पुगेपछि आफैंमाथि लागू गर्ने साहस नयाँ नेतृत्वमा छ कि छैन भन्ने प्रश्न अझ महत्वपूर्ण हो ।
गगन थापा र विश्वप्रकाश शर्मा लामो समयदेखि कांग्रेसभित्र परिवर्तन, पुस्तान्तरण, संगठन सुधार र नयाँ राजनीतिक संस्कारका पक्षमा उभिँदै आएका नेता हुन् । विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेपछि उनीहरूसामु अब आलोचना गर्ने होइन, आफूले भनेको कुरा कार्यान्वयन गरेर देखाउने चुनौती छ ।
किनकि कांग्रेसको रूपान्तरण भनेको सभापतिको कुर्सीमा गगन थापा बस्नु र उपसभापतिको कुर्सीमा विश्वप्रकाश शर्मा बस्नु मात्र होइन । देउवा र खड्का निवर्तमान हुनु मात्रै पनि रूपान्तरणको अन्तिम प्रमाण हुन सक्दैन । रूपान्तरण त त्यतिबेला देखिन्छ, जब पार्टीको राजनीतिक दृष्टिकोण बदलिन्छ, निर्णय प्रक्रिया पारदर्शी हुन्छ, उम्मेदवार छनोटमा गुट होइन क्षमता हेर्ने संस्कार बस्छ र पार्टी राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोणसहित उभिन्छ ।
अझ पछिल्लो निर्वाचनको अनुभवले कांग्रेसको नयाँ नेतृत्वलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने ठाउँ दिएको छ । विशेष महाधिवेशनको पक्षमा रहेका आफ्नै समूहका व्यक्तिलाई टिकट दिने, आफू भने देशभरका निर्वाचन क्षेत्रमध्ये तुलनात्मक रूपमा सुरक्षित क्षेत्र रोजेर चुनाव लड्ने, भावी प्रधानमन्त्रीको दाबी गर्ने र पार्टी सभापतिको हैसियतमा चुनावी नेतृत्व गरेर पनि पराजय व्यहोर्ने अवस्थालाई केवल परिस्थितिको परिणाम भनेर पन्छाउन मिल्छ ?
राजनीतिमा जित र हार स्वाभाविक हुन्छ । तर नेतृत्वको नैतिक जिम्मेवारी भने चुनावी परिणामसँगै समाप्त हुँदैन । आफूले नेतृत्व गरेको चुनावी रणनीति असफल हुँदा त्यसको समीक्षा गर्ने, कमजोरी स्वीकार गर्ने र जिम्मेवारी लिने राजनीतिक संस्कार पनि लोकतान्त्रिक पार्टीको रूपान्तरणकै हिस्सा हो ।
त्यसैले कांग्रेसको नयाँ नेतृत्वले आफूलाई यही प्रश्न गर्नुपर्छ—हामीले नेतृत्व मात्र परिवर्तन गरेका हौँ कि राजनीतिक संस्कार पनि परिवर्तन गर्दैछौँ ?
अर्को महत्वपूर्ण प्रश्न शेरबहादुर देउवासँग जोडिन्छ । देउवा कांग्रेसका पूर्वसभापति हुन् । उनीसँग राजनीतिक मतभेद हुन सक्छ, उनको नेतृत्वको आलोचना गर्न सकिन्छ, उनका निर्णयको विरोध गर्न सकिन्छ । तर लामो समयपछि उपचारपछि स्वदेश फर्किएका पूर्वसभापतिप्रति पार्टीभित्रका जिम्मेवार नेताहरूको व्यवहार कस्तो हुन्छ भन्ने विषय पनि राजनीतिक संस्कारकै मापन हो ।
आफ्नै पार्टीका पूर्वसभापतिमाथि गुटगत प्रतिस्पर्धाका नाममा अनावश्यक टिप्पणी हुँदा नयाँ नेतृत्वले त्यसलाई सच्याउने, आफ्ना समर्थकलाई संयमित बनाउने र असहमतिको पनि एउटा मर्यादा हुन्छ भन्ने स्थापित गर्ने क्षमता देखाउन सक्नुपर्छ । राजनीतिक प्रतिद्वन्द्वीलाई हराउनु एउटा कुरा हो, तर आफ्नो राजनीतिक संस्कारलाई जित्नु अर्को कुरा हो ।
कांग्रेसले अब राष्ट्रियताको सवालमा पनि आफूलाई स्पष्ट रूपमा परिभाषित गर्नुपर्नेछ । सीमा, सार्वभौमिकता, परराष्ट्र सम्बन्ध, आर्थिक नीति, रोजगारी, शिक्षा, स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण र राज्य संरचनाका विषयमा कांग्रेसको आफ्नै स्पष्ट राजनीतिक दृष्टिकोण के हो ? नयाँ नेतृत्वले यी प्रश्नको उत्तर दिन नसके केवल नेतृत्व पुस्ता फेरिँदैमा कांग्रेस नयाँ बन्न सक्दैन ।
आजको मतदाता पुरानो भाषणले मात्र प्रभावित हुने अवस्थामा छैन । उसले कांग्रेसले के फरक गर्छ ? भनेर हेर्छ । उसलाई गुट परिवर्तन होइन, नीति परिवर्तन चाहिएको छ । अनुहार परिवर्तन होइन, निर्णय गर्ने शैली परिवर्तन चाहिएको छ । भाषणमा युवा पुस्ता होइन, व्यवहारमा नयाँ पुस्ताको राजनीतिक संस्कार चाहिएको छ ।
त्यसैले देउवाको आगमनलाई गगनको छटपटी वा खुसीको रूपमा मात्र हेर्नु कांग्रेसको ठूलो राजनीतिक प्रश्नलाई सानो बनाउनु हुनेछ । देउवा फर्किनु कांग्रेसका लागि एउटा अवसर पनि हुन सक्छ—पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा आमनेसामने बसेर पार्टीको भविष्यबारे गम्भीर संवाद गर्ने अवसर ।
यदि नयाँ कांग्रेस साँच्चिकै बनाउने हो भने गगनले देउवासँग डराउनुपर्ने होइन, देउवाको इतिहासबाट सिक्नुपर्ने हो । विश्वप्रकाशले पुरानो नेतृत्वलाई गाली गर्नुपर्ने होइन, नयाँ राजनीतिक संस्कार निर्माणमा आफ्नो भूमिका प्रमाणित गर्नुपर्ने हो ।
अन्ततः कांग्रेसको रूपान्तरणको प्रमाण विशेष महाधिवेशनको निर्णयले होइन, आगामी दिनमा कांग्रेसले लिने राजनीतिक निर्णय, उम्मेदवार छनोट, राष्ट्रिय मुद्दामा उसको अडान, नेतृत्वको नैतिकता र जनताप्रतिको जवाफदेहिताले दिनेछ ।
त्यसैले अहिले कांग्रेसभित्रको मूल प्रश्न ‘को सभापति ?’ होइन । मूल प्रश्न हो—‘सभापति जो भए पनि कांग्रेस कस्तो बन्ने ?’ यही प्रश्नको उत्तरले गगन नेतृत्वको कांग्रेस इतिहासमा साँच्चिकै रूपान्तरित कांग्रेसका रूपमा दर्ज हुन्छ कि केवल अर्को नेतृत्व परिवर्तनका रूपमा, त्यो निर्धारण गर्नेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया