logo

२०८३ मंसिर ९ मंगलवार

logo
  • २०८३ मंसिर ९ मंगलवार
  • सुगौली सन्धिको सक्कल प्रति नभेटिएको विषयमा भारतको जवाफ– ‘द्विपक्षीय संयन्त्रमार्फत कुराकानी गर्न सक्छौं’

    1.1KShares
    सुगौली सन्धिको सक्कल प्रति नभेटिएको विषयमा भारतको जवाफ– ‘द्विपक्षीय संयन्त्रमार्फत कुराकानी गर्न सक्छौं’

        काठमाडौं । नेपालका विदेशमन्त्रीले सुगौली सन्धिको सक्कल प्रति फेला नपरेको बताएको विषयमा भारतले आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल–भारतबीचका कतिपय विषयमा सहमति नहुन सक्ने भन्दै त्यस्ता विषय द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिने बताएका हुन् ।

    पत्रकारले ‘नेपालका विदेशमन्त्रीले सुगौली सन्धिको सक्कल प्रति फेला नपरेको भनेका छन् नि ?’ भन्दै भारतको धारणा मागेका थिए ।

    जवाफमा जयसवालले नेपाल र भारतबीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै भने, ‘भारत र नेपालबीचको सम्बन्ध धेरै राम्रो छ । कतिपय विषयमा सहमति नभएको हुनसक्छ । तर, त्यस प्रकारका मुद्दाका लागि दुई पक्षीय संयन्त्र छ । त्यसैमार्फत कुराकानी गर्न सक्छौं ।’

    नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा भएको सुगौली सन्धि नेपाल–भारत सीमा सम्बन्धी महत्वपूर्ण ऐतिहासिक दस्तावेज मानिन्छ । उक्त सन्धिलाई आधार बनाएर नेपालले आफ्नो पश्चिमी सीमासम्बन्धी दाबी गर्दै आएको छ ।

    सुगौली सन्धिसहित ऐतिहासिक दस्तावेज, नक्सा र अन्य प्रमाणका आधारमा नेपालले सन् २०२० मा लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको भूभागका रूपमा समेटिएको छ ।

    नेपाल र भारतबीच यी भूभागलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । भारतले भने नेपालको दाबी स्वीकार गरेको छैन । पछिल्लो समय सुगौली सन्धिको सक्कल प्रति खोजीको विषय सार्वजनिक भएपछि सीमा विवादसँग जोडिएको ऐतिहासिक प्रमाणबारे बहस पुनः सतहमा आएको हो ।

    यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूतबीच भएको भेटवार्ताबारे पनि जानकारी दिएका छन् । उनले दुई पक्षीय विषयमा छलफल केन्द्रित रहेको बताएका छन् ।

    प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा दिइएको विषयमा सोधिएको प्रश्नमा जयसवालले नेपालका प्रधानमन्त्रीले पदभार ग्रहण गरेकै बेला भारतीय प्रधानमन्त्रीले निमन्त्रणा पठाइसकेको बताए ।

    ‘त्यहाँका प्रधानमन्त्रीले पदभार ग्रहण गरेकै बेलामा हाम्रो प्रधानमन्त्रीले निमन्त्रणा पठाइसक्नुभएको हो,’ उनले भने, ‘यससम्बन्धी थप जानकारी आए म बताउनेछु ।’

    भारतको पछिल्लो भनाइले सुगौली सन्धि र सीमा विवादजस्ता संवेदनशील विषयलाई सार्वजनिक बहस वा आरोप–प्रत्यारोपभन्दा द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्ने उसको धारणा स्पष्ट पारेको छ ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट