काठमाडौं । शिक्षा क्षेत्रका विभिन्न सुधारका माग राख्दै कैलालीको धनगढीमा २४औँ सत्याग्रह (अनशन) मा बसेका डा. गोविन्द केसीले सरकारसँग सहमति भएपछि आफ्नो अनशन अन्त्य गरेका छन्।
बिहीबारदेखि सुरु भएको अनशनका क्रममा सरकार र डा. केसी पक्षबीच प्रारम्भिक संवाद भए पनि ठोस निष्कर्ष ननिस्किएपछि वार्ता लम्बिएको थियो। शुक्रबार साँझ शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले डा. केसीसँग संवादको पहल गरेका थिए। त्यसबेला मन्त्रीले उनका सहयोगी डा. अमृत जैशीमार्फत करिब १० मिनेटभन्दा बढी कुराकानी गर्दै वार्ताबाट समाधान खोज्ने प्रतिबद्धता जनाएका थिए।
त्यसपछि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा सरकारी वार्ता टोली शनिबार धनगढी पुगेर डा. केसी पक्षसँग लामो छलफल गरेको थियो। वार्तामा डा. केसीले उठाएका विभिन्न मागमा सहमति जुटेपछि उनले २४औँ सत्याग्रह अन्त्य गरेका हुन्।
सरकार र डा. केसी पक्षबीच भएको सहमतिमा चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, विगतका सम्झौता कार्यान्वयन तथा अन्य समसामयिक विषय समेटिएको जनाइएको छ। सहमतिपछि डा. केसीले सरकार सहमतिप्रति इमानदार भएर कार्यान्वयनमा अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।
यससँगै पछिल्ला केही दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका मुद्दालाई लिएर उत्पन्न भएको आन्दोलन तत्कालका लागि टुंगिएको छ। अब भने सरकार सहमतिका बुँदाहरू कार्यान्वयनमा कति गम्भीर बन्छ भन्ने विषयलाई सबैले चासोका साथ हेर्नेछन्।
प्रतिक्रिया