काठमाडौँ । साउन ६ गते ‘जरा अभियान’ सम्पन्न गरेलगत्तै नेपाली कांग्रेसले नयाँ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले अब कुनै घटना भएपछि मात्र प्रतिक्रिया दिने प्रवृत्तिभन्दा अघि बढेर सम्भावित नागरिक समस्यालाई पहिचान र उजागर गर्ने अभियान सञ्चालन गर्ने जनाएको छ।
४४औँ बिपी स्मृति दिवसका अवसरमा नीति प्रतिष्ठानले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै कांग्रेसका सभापति गगन थापाले साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन हुने नयाँ अभियानको घोषणा गरिने जानकारी दिए। उनका अनुसार साउन ६ गते जरा अभियान औपचारिक रूपमा समापन भएपछि साउन ७ गतेको कार्यक्रममार्फत नयाँ अभियान सुरु हुनेछ। उनले पार्टीलाई प्रतिक्रियामुखीभन्दा नागरिकका सम्भावित समस्या पहिचान गरी समाधानका लागि सक्रिय भूमिका खेल्ने दिशामा अघि बढाइने बताए।
कार्यक्रममा कांग्रेसका उपसभापति तथा नीति प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले बिपी स्मृति दिवसका अवसरमा साउन ६ गते पाँच किलोमिटर ‘ग्रिन रन’, चित्रकला प्रतियोगिता तथा संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनका अनुसार यस वर्षको बिपी पुण्यतिथिलाई जलवायु परिवर्तन र त्यसका प्रभावमा केन्द्रित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
शर्माले साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरिने पनि बताए। सो अवसरमा उनले नीति प्रतिष्ठानअन्तर्गत गठन गरिएका ३० वटा विषयगत समितिका गतिविधिबारे समेत जानकारी गराएका थिए। छलफल कार्यक्रममा उपत्यकामा उपलब्ध पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, उपत्यकाका जिल्ला सभापति तथा नीति प्रतिष्ठानका सदस्यहरूको सहभागिता रहेको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया