काठमाडौं । नेपालको राजनीति काठमाडौंकेन्द्रित हुँदै गएको आरोप लागिरहेका बेला चलचित्रकर्मी तथा राष्ट्रवादी अभियन्ता नवल खड्का भने देशको सबैभन्दा संवेदनशील सीमाक्षेत्र दार्चुलाको तिङ्कर भञ्ज्याङ पुगे। त्यहाँ पुगेर उनले चलचित्रको प्रचार मात्र गरेनन्, सरकारलाई प्रत्यक्ष रूपमा एउटा राजनीतिक र राष्ट्रिय प्रश्न पनि तेर्स्याए— “हामी पुग्यौं, अब प्रधानमन्त्री र मन्त्रीहरू कहिले पुग्छन्?”
नेपाल–भारत सीमाको अन्तिम जङ्गे सीमा स्तम्भ नम्बर–१ बाट उनले सरकारलाई “० नम्बर पिलर देखाऊ, सीमामा काँडेतार लगाऊ” भन्ने चुनौती दिए। उनको प्रश्न केवल काँडेतार निर्माणको मागमा सीमित थिएन, बरु राज्यको सीमाप्रतिको उपस्थितिमाथिको प्रश्न थियो।
खड्काले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय संसद र भाषणमा मात्र उठाउने तर त्यहाँका नागरिकको वास्तविक अवस्था बुझ्न कहिल्यै नपुगेको आरोप लगाए। उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई कम्तीमा एक रात सीमावर्ती गाउँमा बसेर त्यहाँका नागरिकको पीडा महसुस गर्न आग्रह गरे।
उनको भनाइमा अझ राजनीतिक व्यंग्य पनि थियो। “कुनै बेला ग्रेटर नेपालको नक्सा प्रदर्शन गर्नेहरू अहिले आफ्नै भूमि पुग्न पनि डराइरहेका छन्। हामी त गएर फर्कियौं, अब सरकारको पालो हो,” उनले भने।
कार्यक्रममा राष्ट्रभक्तिमूलक चलचित्र ‘काँडेतार’ को पोस्टर सार्वजनिक गर्नुका साथै ‘सिमानामा काँडेतार’ अभियानको औपचारिक सुरुवात गरिएको थियो। खड्काले आफ्नो पुस्तक ‘नवल खड्का’ र चलचित्र ‘भिमदत्त’ तथा ‘काँडेतार’ बाट प्राप्त हुने नाफाको ५० प्रतिशत सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानको संरक्षणका लागि खर्च गर्ने घोषणा पनि गरे।
उनले सीमामा आधुनिक सुरक्षा प्रणाली, काँडेतार, सीसी क्यामेरा, नेपाली सेनाको प्रभावकारी परिचालन, युवालाई अनिवार्य सैनिक तालिम तथा तिङ्कर क्षेत्रमा पर्यटन पूर्वाधार विकासको प्रस्तावसमेत अघि सारे।
खड्काको अभियानलाई कसैले राष्ट्रवादको व्यावहारिक अभियानका रूपमा हेरेका छन् भने कसैले यसलाई चलचित्र प्रवर्द्धनसँग जोडिएको राजनीतिक सन्देशका रूपमा विश्लेषण गरेका छन्। तर एउटा तथ्य भने स्पष्ट देखिन्छ— सीमा विवादको बहस फेरि एकपटक काठमाडौंबाट तिङ्करतर्फ मोडिएको छ।
यदि सरकारले यस चुनौतीलाई केवल राजनीतिक अभिव्यक्तिका रूपमा होइन, सीमावर्ती नागरिकको आवाजका रूपमा सुन्न सके, त्यो नै यस अभियानको सबैभन्दा ठूलो उपलब्धि हुन सक्छ।
प्रतिक्रिया