logo

२०८३ असार २२ सोमबार

logo
  • २०८३ असार २२ सोमबार
  • डोल्पामा हिलोसहितको बाढी : एक महिलाको मृत्यु, चार घाइते

    913Shares
    डोल्पामा हिलोसहितको बाढी : एक महिलाको मृत्यु, चार घाइते

    डोल्पा — जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरी गाउँमा अविरल वर्षापछि धुला खोलामा आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    आइतबार बिहान करिब ३ बजे आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन् । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ । अन्य तीन जनाको उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

    घटनापछि मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक तनावका कारण बेहोस भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    प्रारम्भिक विवरणअनुसार बाढीका कारण एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।

    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ असार २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट