logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • नीति तथा बजेट निर्माणमा जनसहभागिता बढाउन सरकारद्वारा सुझाव संकलन पोर्टल सञ्चालन

    745Shares
    नीति तथा बजेट निर्माणमा जनसहभागिता बढाउन सरकारद्वारा सुझाव संकलन पोर्टल सञ्चालन

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

    सरकारले सोमबार सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता, अपेक्षा र विकासका प्राथमिकतालाई समेट्ने उद्देश्यसहित उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको जनाएको छ ।

    यस पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण, विकास योजना तथा सरकारी प्राथमिकतासम्बन्धी आफ्ना सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन् ।

    प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार नीति निर्माण प्रक्रियालाई प्रशासनिक सीमाभित्र मात्र नराखी आम जनताको भावना, अनुभव र विज्ञतालाई समेट्ने उद्देश्यले यो पहल गरिएको हो ।

    उनले पोर्टलमार्फत नागरिक र राज्यबीचको दूरी कम गर्दै सुशासनको नयाँ अभ्यास स्थापित हुने विश्वास व्यक्त गरिन् । प्राप्त सुझावहरूलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको पनि उनले बताइन् ।

    पोर्टलमा दिइएका सुझावहरूको अवस्था तथा सरकारले चालेका कदमबारे जानकारी लिन सकिने ‘सुझाव ट्र्याकिङ’ सुविधा समेत प्रणालीमा समावेश गरिएको छ ।

    सरकारले सबै नेपालीलाई यस डिजिटल पहलमा सक्रिय सहभागिता जनाई ‘समृद्ध नेपाल’ निर्माण अभियानमा रचनात्मक योगदान दिन आग्रह गरेको छ ।

    नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टल प्रयोग गरी आफ्ना राय तथा सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पठाउन सक्नेछन् ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट